अनलाइन टिभी पत्रकार संघ नेपालद्वारा मिडियालाई श्रावण मसान्तसम्म दर्ता गर्न अन्तिम समयसीमा — नत्र साधारण सदस्यता स्वतः खारेज हुने

धनगढी, कैलाली — अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले संघमा आबद्ध सम्पूर्ण साधारण सदस्यहरूले सञ्चालन गरेका मिडियालाई श्रावण मसान्तभित्र सम्बन्धित सरकारी निकायमा अनिवार्य रूपमा दर्ता गर्न पुनः आग्रह गरेको छ। दर्ता नगरे साधारण सदस्यता स्वतः खारेज हुने स्पष्ट गरिएको छ।

 

२०८२ साल जेठ १० गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड नेपाल, तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्ना सञ्चार माध्यमहरू दर्ता गरिसक्न सम्बन्धित सदस्यलाई जानकारी गराइएको थियो। प्रारम्भिक रूपमा दर्ताका लागि असार मसान्तसम्मको समयसीमा तोकिएको थियो।

 

तर, प्रदेश कार्यसमितिमा समय अपुग भएको भन्दै सदस्यहरूबाट गुनासो आउन थालेपछि, संघले २०८२ साल असार १० गते बसेको बैठकमार्फत दर्ताको समयसीमा एक महिनाका लागि थप गर्ने निर्णय गरेको हो। अब सम्बन्धित मिडियाले २०८२ साल श्रावण मसान्तभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

 

संघका महासचिव टिकाराम साउदद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “निर्धारित म्यादसम्म सम्बन्धित निकायमा दर्ता नगरेमा ती मिडिया सञ्चालकको संघ सदस्यता स्वतः खारेज हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”

 

यस निर्णयले पत्रकारितामा पारदर्शिता, जवाफदेहिता र कानुनी मर्यादा कायम गर्न सहयोग पुर्‍याउने संघको विश्वास छ। अनलाइन टिभी पत्रकार संघ नेपालले दर्ता प्रक्रिया सहज बनाउन आवश्यक परामर्श र सहयोग गर्न तत्पर रहेको पनि जनाएको छ।

 

संघले सदस्य सञ्चारमाध्यमलाई सञ्चार विधि, नियमन र पेशागत आचरणमा दृढ बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ।

 

“पत्रकारिता अपराध होइन — सत्यको आवाज हो” भन्ने नाराका साथ अगाडि बढ्दै आएको संघले सदस्य मिडियालाई व्यवस्थित, जिम्मेवार र कानुनी रूपमा सशक्त बनाउन यो प्रक्रिया अनिवार्य बनाएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?