
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी पदका लागि न्यू साउथ वेल्स स्टेटबाट उम्मेदवारी दर्ता गराएका छन्।अष्ट्रेलियामा रहेका आम नेपालीमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रुपमा आफ्नो छुट्टै छबी बनाउन सफल अमरको उम्मेदवारीले भिन्न माहोल बनाएको छ।
अमरको निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवा बताउँछन्।’हिजोका अनुभव र आजको सक्रियता जोडेर हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने।
सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया प्रवेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन्। अमरले शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी, रियल स्टेट र आईटी ट्रेनगं इन्स्टीच्यूट क्षेत्रका विभिन्न व्यवसायहरू अष्ट्रेलियाका विभिन्न राज्य र विदेशसम्म सञ्चालन गरिरहेका छन्।
विद्यार्थी जीवनदेखि नै अष्ट्रेलियामा रहेका नेपालीहरुलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । अमरले अष्ट्रेलिया पुगेका विद्यार्थीलाई साथ सर्मथन गर्ने, अप्ठ्यारोमा परेका विद्यार्थीलाई काउन्सिलिङ गर्ने, व्यापार व्यवसाय गर्न नसकिरहेकालाई सेमिनारमार्फत अघि बढ्ने हौसला दिने प्रतिवद्धता जनाएका छन्। अमरले सन्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेदवारी दिएका हुन्। २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।