कार्यकर्ता हुँ म

  • विचार र मूल्यकाे यात्रामा समर्पित एक सिपाही पनि !!
  • कैलाली । पन्ध्र वर्ष भयो, म नेकपा एमाले पार्टीको भातृ संगठन हुँदै मूलधारको राजनीतिमा जोडिएको। यसबीचमा मेरो जीवनको एउटा महत्त्वपूर्ण यथार्थ के हो भने, मैले कहिल्यै पनि व्यक्तिगत लाभको लागि राजनीति रोजिनँ। न त कुनै नेताप्रति व्यक्तिगत आसक्ती राखें, न त कुनै पद वा प्रतिष्ठाको पछाडि लागें। मेरो राजनीतिमा आउने उद्देश्य थियो – विचार, संगठन र सिद्धान्तको सेवा गर्नु। पार्टी र जनताको हितमा केही योगदान दिनु।

     

    तर आजको समय धेरै परिवर्तन भएको छ। राजनीतिको मूल्याङ्कन आर्थिक हैसियतबाट हुन थाल्यो। जसको गाडी ठूलो, घर ठूलो, बैंक ब्यालेन्स ठूलो, ऊ ठूलाे नेताको दर्जामा पुग्छ। तर त्यही आर्थिक हैसियत भएका व्यक्तिहरूबाट जनताले अपेक्षित डेलिभरी पाएनन् भन्ने पनि हामीले बारम्बार देख्दै आएका छौँ। तर यो प्रश्न सोध्ने र त्यसको मूल्याङ्कन गर्ने मानिसहरू कम छन्।

     

    म बर्दगोरिया गाउँपालिका कमिटी उपसचिवकाे रूपमा एक कार्यकाल जिम्मेवारीमा रहेँ। २०७९ सालको स्थानीय तहको निर्वाचनमा हाम्रो गाउँपालिकामा पार्टीको वहुमत ल्याउन म निरन्तर लागिपरेँ। घोषणा पत्र लेख्ने, रणनीति बनाउने, संगठन सुदृढ पार्ने, अभिलेख व्यवस्थापन गर्ने, र स्थानीय आवश्यकता बुझेर नीति निर्माण गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरें।

     

    तर आज जब पार्टीमा केही अवसर पाएका नेताहरूले निष्ठावान, समर्पित कार्यकर्तामाथि हेपाहा व्यवहार गर्न थाल्छन्, आरोप लगाउँछन्, मनोबल तोड्ने काम गर्छन् – त्यो देख्दा मन अत्यन्तै पीडित हुन्छ। संगठनको हरेक इँटा बनाउने क्रममा हाम्रो पनि पसिना, त्याग र समर्पण मिसिएको छ। हामीले पार्टीलाई सत्तामा पुर्‍याएर जनताको चाहना पूरा गरौँ भनेर काम गर्‍यौं। त्योभन्दा फरक कुनै स्वार्थ कहिल्यै राखेनौं।

     

    तर अहिले मन परेन भनेर आफ्नै कार्यकर्तालाई पेल्ने, लाञ्छना लगाउने, हतारको निर्णय गरेर संगठनलाई कमजोर बनाउने प्रवृत्तिले राजनीतिलाई दुराशयतर्फ डोर्याइरहेको छ। र मलाई लाग्छ – यस्तो प्रवृत्तिले एकदिन निश्चय नै पश्चाताप ल्याउनेछ।

     

    म कार्यकर्ता हुँ।

     

    तर म मौन छैन। म आज पनि विचारको पक्षमा उभिएको छु। संगठनको मजबुती, जनताको विश्वास र पार्टीको उज्यालो भविष्यका लागि मेरो कलम, मेरो विचार, मेरो श्रम निरन्तर लागिरहनेछ। पद बिना पनि योगदान दिन सकिन्छ – र सच्चा पार्टीप्रेम भनेकै त्यही हो।

     

    राजनीति व्यक्तिको लागि होइन, विचारको लागि हो। सत्ताको लागि होइन, सेवाको लागि हो। जसले यो मूल्य बिर्सन्छ, उसले राजनीति होइन, व्यापार गर्छ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?