कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलाली, धनगढी । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको एक होटलमा काम गर्ने १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट ज्यान गएको छ। शनिबार बिहान करिब ९:५० देखि १० बजेभित्र बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टर मा कार्यरत १७ वर्षीया याचना सेजवालमाथि सोही होटलमा कार्यरत नृप साउदले धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बर्दगोरिया–३ की सेजवालमाथि बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले होटलमै चक्कु प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई तत्काल स्थानीय बर्दगोरिया अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको प्रहरी स्रोतले जनाएको छ।

 

घटनापछि मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ। आक्रमणकारी साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारण अझै खुल्न बाँकी रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा दुवै जना होटलका कर्मचारी रहेको र उनीहरूबीच केही समयदेखि बोलचाल बन्द रहेको बताइए पनि वास्तविक कारण खुल्न बाँकी रहेको जनाइएको छ। यस घटनाले स्थानीय बासिन्दा स्तब्ध छन्। किशोरीको विभत्स हत्या भएकाले स्थानीय समाज, मानवअधिकारकर्मी र विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?