काठमाडौ । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ ।बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो ।पशु चिकित्सक परिषद्का अनुसार नेपालमा सरकारीस्तरमा मात्रै एक हजार दुई सयको हाराहारीमा पशु चिकित्सक (भेटेरिनरी डाक्टर) आवश्यक छ । तर तीमध्ये झण्डै आठ सय पशुचिकित्सक खाली छन् अर्थात अभाब रहेकाे तथ्याकले देखाएकाे छ ।
परिषद्का अनुसार देशभरिका संघ, प्रदेश र स्थानीय तहमा कुल १ हजार दुई सय एकजना पशु चिकित्सक र पशु विकास अधिकृतहरूको दरबन्दी छ । तर समयमै भर्ना नखुलाउँदा र स्थानीय तहमा जाँदा तह घटुवा हुने हुँदा पदपूर्ति हुन अझै नसकेको देखिएकाे छ । पशु चिकित्सक परिषद्का रजिष्टार डा. मनोजकुमार शाहीका अनुसार सरकारी र निजीबाट गरेर देशभरका लागि दुई हजार नौ सय पशु चिकित्सक आवश्यक छ । तर सरकारी र निजी दुवै क्षेत्रमा पशु चिकित्सकको अभाब छ ।
चिकित्सक अभावकै कारण स्थानीय तह आफैँले भेटेरिनरी अस्पतालसमेत सञ्चालन गरेका छैनन् । प्रदेशस्तरीय भेटेरिनरी अस्पताल पनि छैन । ७७ मध्ये ५१ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा छन् । सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक (भेटेरिनरी डाक्टर) खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोगलगायतलाई नियन्त्रण गर्न सरकारलाई कठिनाइ छ ।
परिषदका अनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिकामा मात्रै पशु चिकित्सक कार्यरत छन् । बाँकी पाँच सय १६ स्थानमा पशु चिकित्सक खटाउन सकिएको छैन । सुरुमा दुई सय ८३ पालिकामा पशु चिकित्सक खटाइएको भए पनि विभिन्न असन्तुष्टिका कारण ४६ जनाले जिम्मेवारी छाडेको परिषद्को भनाइ छ । जसकारण हाल दुई सय ३७ स्थानमा मात्रै पशु चिकित्सक कार्यरत छन् ।
परिषद्का प्रवक्तासमेत रहेका डा.शाहीले प्रदेश लोक सेवाबाट समयमै पर्याप्त मात्रामा पदपूर्ति हुन नसक्दा स्थानीय तहमा पशुविज्ञ चिकित्सकहरूको अभाव भएको बताए । ‘समयमा हुन नसकेको पदपूर्ति र तहगत संरचना नमिल्दा अभाव भएको हो,’ उनले भने । स्थानीय तहमा समायोजन हुँदा एक तह घटुवा हुने भएकाले पनि पशु चिकित्सकहरूको अभाव हुन थालेको उनको भनाइ छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७५ मा समायोजन गर्दा जम्मा एक सय २६ जना दर्तावाल पशु चिकित्सकहरू स्थानीय तहका लागि छानिएका थिए । त्यस्तै, संघको ससर्त अनुदान कार्यक्रमअन्तर्गत एक पालिका एक पशु चिकित्सक र केही स्थानीय तहले आफ्नो स्रोतबाट खर्च हुने गरी करारमा कुल एक सय ५७ पशु चिकित्सक भर्ना गरेका थिए ।
अहिले नेपालमा उत्पादन हुने पशुपक्षी क्षेत्रको अधिकांश जनशक्ति उच्च शिक्षा र अवसरको लागि विदेशिएको र बाँकी रहेको जनशक्ति व्यवसाय भन्दा पनि रोजगारीमा संलग्न भएको पाइन्छ । कृषि विषयमा अध्ययन गरेका विज्ञहरूले पशुपक्षी उत्पादन र यस सम्बन्धी उद्यममा लाग्ने हो भने नेपालको पशुपक्षी क्षेत्रको रूपान्तरण सम्भव देखिन्छ तर यसको लागि सरकारले यस्तो दक्ष जनशक्तिलाई देशभित्रै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सरोकारवालाहरु बताउँंछन् ।
विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले यी सबै एउटै तहका डाक्टर हुन् भनेर ‘वान हेल्थ’ को अवधारणा ल्याएको छ । भारत, युरोपलगायतका देशमा सबैको एउटै तह छ । तर हामीकहाँ पशु चिकित्सकलाई भेदभाव गरेर मनोबल घटाउने काम गरिएको छ । यही कारण पनि पशु चिकित्सक स्वदेशमै रोजगारी गर्न नचाहेको बताइन्छ ।