
कैलाली, बर्दगोरिया — नेपालको सुदूरपश्चिम क्षेत्र अन्तर्गत कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित ऐतिहासिक बर्दगोरिया धामसहित विभिन्न स्थानमा आजदेखि नेपाली चलचित्र ‘आरपार’ को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ।
शुभमुहूर्त कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, युवा नेता नवीन ढुङ्गाना, स्थानीय अगुवा, पत्रकार, कलाकार तथा फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडाध्यक्ष विकले मन्तव्य दिँदै यस्ता सिर्जनात्मक कार्यले स्थानीय प्रतिभाको पहिचान, सामाजिक सचेतना र सांस्कृतिक प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
राजनीति, युवाको पीडा र समाजको यथार्थ उठान गर्ने कथा
गोपी कला प्रोडक्सनको प्रस्तुति GOPI-KALA PRODUCTION PRESENTS रहेको यो चलचित्रले नेपालमा देखापरेको राजनीतिक अस्थिरता, युवापुस्ताको निराशा, लागूपदार्थ दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक कमजोरी, कमेडी, सामाजिक अन्याय र समाजमा घटेका राम्रा र नराम्रा दुवै पक्षलाई समेटेर कलात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्य लिएको छ।
चलचित्रका निर्माता हितेश ताम्राकार भन्छन्, “यो फिल्म केवल मनोरञ्जनका लागि होइन, सामाजिक रूपान्तरणको सशक्त हतियारका रूपमा निर्माण गरिएको हो। ‘आरपार’ हाम्रो समय र युवाको आवाज हो।”
चलचित्र लेखक तथा निर्देशक राजेश तुलाचन रहनुभएको छ भने कार्यकारी निर्माता रवि जनाला र स्वयम क्षेत्री, छायांकन तथा सम्पादन निर्देशक अर्जुन मगर हुनुहुन्छ।
स्थानीय स्थान, स्थानीय पात्र र युवाको सहभागिता
चलचित्रको सम्पूर्ण छायांकन बर्दगोरिया गाउँपालिकाका विभिन्न प्राकृतिक तथा यथार्थपरक स्थानहरूमा गरिने जनाइएको छ। फिल्मले स्थानीय भाषा, संस्कृति र जनजीवनलाई यथासम्भव नजिकबाट प्रस्तुत गर्ने प्रयास गर्नेछ।
स्थानीय कलाकार र युवालाई प्राथमिकता दिइएको यस फिल्ममा करीब १० देखि १२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यो लगानी स्थानीय स्रोत र व्यक्तिगत सहयोगबाट जुटाइएको हो। फिल्म १ घण्टा १५ मिनेट लामो हुनेछ र दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने योजना छ।
दशैँमा प्रदर्शन हुने योजना
निर्माता ताम्राकारका अनुसार ‘आरपार’ फिल्मको प्रदर्शन यस वर्षको दशैँमा गरिनेछ। नेपालका प्रमुख शहरहरूसँगै भारतमा बसोबास गर्ने नेपाली भाषी समुदायसम्म फिल्म पुर्याउने योजना निर्माण टोलीले बनाएको छ।
“समाजमा भइरहेका साना–ठूला घटना, राजनीतिक रणनीति, युवाको मर्म र उनीहरूको आवाज यो फिल्ममा देख्न सकिनेछ,” ताम्राकारले वैज्ञानिक मिडियासँग भन्नुभयो।
‘आरपार’ — सिर्जनात्मकताको नयाँ अभ्यास
निर्देशक तुलाचन भन्छन्, “फिल्म बनाउनु भनेको केवल क्यामेरा चलाउनु होइन, त्यो जनतासँग संवाद गर्ने माध्यम हो। हामी यही संवादलाई गहिरो बनाउन खोजिरहेका छौं।”
‘आरपार’ चलचित्र एक सामाजिक अभियानजस्तै हो, जसले कलाको माध्यमबाट समाजको यथार्थ उजागर गर्दै परिवर्तनको सन्देश दिन खोजेको छ।
कलाकारहरूको सहभागिता
चलचित्रमा नवराज रिमाल, रमेश नेपाली, राजेन्द्र विश्वकर्मा, हितेश ताम्राकार, कृष्ण भण्डारी, रवि जनाला, कलपेस कुँवर, अजय थापा, अरविन विश्वकर्मा, गोपी पुन मगर, सुनिल टमट्टा, दिलिप विश्वकर्मा, विकास दास, दीपक बोहरा, तिलक आर.जे. लगायतका कलाकारहरूको अभिनय रहनेछ।
‘आरपार’ चलचित्रले नेपालको ग्रामीण समाजको यथार्थ, युवाको पीडा र समसामयिक राजनीतिक घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरेको छ। बर्दगोरियामा सुरु भएको यस फिल्मले नेपाली चलचित्र उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।