बर्दगोरियामा सुरु भयो १५ औं राष्ट्रपति रनिङ शिल्ड

कैलाली । बर्दगोरिया गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं.–४ को कोटागढीस्थित खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले मानिसको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । उनले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र विद्यालय तहबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष कुँवरले खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिनुपर्नेमा जोड दिए । विद्यार्थीको सिर्जनात्मक विकासका लागि विद्यालय तहबाटै अभ्यास गरिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, सो अवसरमा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । उनले विद्यालयलाई राजनैतिक हस्तक्षेप मुक्त गर्दै शैक्षिक स्तरवृद्धि गर्न आवश्यक रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका उपाध्यक्ष गिरीले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा व्यक्तित्वको क्षमता विकासमा टेवा पुग्ने बताए । उनले स्वस्थ शरीरका लागि खेलकुद अपरिहार्य भएको बताए ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष तथा मिथुन गौतमको सभापतित्वमा भएको थियो ।

 

शिक्षक पुष्कर सुनारले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य, कार्यपालिका सदस्य सरस्वती वि.क., कलावती ढुंगाना, भिमबहादुर वि.क. र माया चौधरीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रभुनाथ जोशीले गरेका थिए ।

 

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका २० विद्यालयका ५ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रावि, निमावि र मावि तहका छात्र र छात्राहरुले प्रतियोगितामा भाग लिनेछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?