बर्दगोरियाले ल्यायो १ अर्ब २ करोड ९१ लाखको बजेट

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२￷/०८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

 

गाउँपालिकाको १६ औं गाउँ सभाबाट १ अर्ब २ करोड ९१ लाखको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा आयोजित गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उपाध्यक्ष गिरीले गाउँपालिकालाई सुन्दर, सम्वृद्ध र उन्नत गाउँपालिका निर्माणको संकल्प, गाउँपालिका बासिन्दाको सम्वृद्धिको आकांक्षा र निर्वाचनमा मतदाताप्रति व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा आगामी आर्थिक वर्ष २०८२￷/०८३ को बजेट केन्द्रित रहेको बताए । उनले आउँदो आर्थिक वर्षमा यसअघिका गौरवका योजनालाई निरन्तरता दिँदै पालिकाको समृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, दिगो पूर्वाधार निर्माण, पर्यटन, महिला तथा बालबालिका, सामाजिक न्याय तथा सुशासनलाई बजेटको प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट भन्दा २३ करोड ५ लाख बजेट वृद्धि गरेको छ । बर्दगोरिया गाउँपालिकाले ३४ करोड ३९ लाख चालूतर्फ, ४१ करोड ५२ लाख पुँजीगत तर्फ र २७ करोड सामाजिक सुरक्षातर्फको बजेट पारित गरेको छ ।

बर्दगोरिया गाउँपालिकाको आन्तरिक आय ३ करोड ६९ लाख ५३ हजार पाँच सय ८१ रुपैयाँ रहेको छ । राजश्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार चार सय १९, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण ५२ करोड २७ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ५ करोड ७० लाख ४७ हजार र मौज्दात ३ करोड ४५ लाख र सामाजिक सुरक्षा कोष २७ करोड रुपैयाँ रहेको छ ।

 

चालू आर्थिक वर्षमा ७९ करोड ८६ लाख १३ हजार १ सय २४ रुपैयाँ बजेट ल्याएको थियो । गाउपालिकाको चालू आर्थिक वर्षमा जेठ मसान्तसम्म २८ करोड ६२ लाख ६२ हजार ६ सय १० रुपैयाँ खर्च गरेको छ । जुन अनुमानित खर्चको ५७.८ प्रतिशत हो । गाउँ सभामा प्रस्तुत भएका नीति, कार्यक्रम तथा बजेटबारे गाउँ सभाबाट सर्वसम्मत पारित गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?