![](https://baigyanikmedia.com/wp-content/uploads/2022/06/wp-header-logo-5.png)
काठमाडौं ।काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ । सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् । पहिलो पटक सन् २००३ मा पहिलो गीत रेकर्ड गराएका गायक परियारले हालसम्म १० एल्बम र ३ सय बढी गीतमा स्वर भरिसकेका छन् । जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रका लागि संघर्ष गरेका परियार पछिल्ला दिन पनि संगीत जगतमै क्रियाशिल छन् । उनका थुप्रै गीतहरू स्रोता दर्शकका मन/मस्तिष्कमा प्रिय छन् । उनको आवाजमा भरिएका क्या दामी भोपिलायो साथीले फेवातालमा साइँली धेरै चोटी मरेँ म त लगायत दर्जनौं गीत नेपाली स्रोताका लागि कर्णप्रिय छन् । गायक परियार गायनमा मात्र होइन व्यावसायिक रूपमा पनि निर्कै चर्चित र व्यस्त गायक हुन् । स्टेज प्रस्तुति तथा राष्ट्रिय , अन्तर्राष्ट्रिय महोत्सवहरूमा व्यस्त रहने परियार पछिल्ला दिनमा भने कोरोना असरका कारण उती व्यस्त छैनन् । यद्यपि उनले लकडाउनकै समयमा पनि विभिन्न गीतमा आवाज भरिसकेका छन्, उनले हालै मात्र नयाँ गीत नाचे फिरिरी बजारमा ल्याएका छन् । जुन गीतले यतिबेला बजारमा आफ्नै चर्चा कमाइरहेको छ । पछिल्लो समय चलेको सांगीतिक ट्रेन्ड अनुसार नयाँ गीत बजार ल्याएको तर नयाँ प्रयोग भने नभएको परियारको भनाइ छ ।अनमोल अनलाईन टेलिभिजन विशेष प्रस्तुति संग कुरा गर्दै परियारले नेपाली संगीत पारखीहरू पछिल्लो समय युट्युवमा बढी क्रियाशिल देखिएकाले सोही अनुसार धेरै मिहेनत कम अपेक्षाका साथ नयाँ गीत बजारमा ल्याएको र उक्त गीतलाई संगीतमा कुनै नयाँ प्रयोगका रूपमा नलिई मनोरञ्जनका रुपमा मात्र लिन आग्रह गरेका छन् । कुराकानीका क्रममा गायक परियारले आफ्नो लामो सांगीतिक करियरलाई पनि सरसर्ति सम्झन भ्याए । संघर्षका दिन यता धेरै नै मिहेनत गरेर काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आफ्नो करियर अघि बेढेको गायक परियारको भनाइ छ । हिजो चप्पल लगाएर उकाली ओराली गर्दा होस् वा संगीतिक करियरका खातिर कयौं किलोमिटर पैदल हिंडेका दिन सबै मस्तिष्कमा छन् । त्यो समय सांगीतिक करियरको भोक थियो, सपना थियो त्यसले नै आजको प्रगति पथसम्म डोहोर्याएको हो । यसर्थमा म व्यावसायिक प्रगतिलाई गौण राखेर सांगीतिक प्रगति भने उत्साहजनक र प्रतिफलपूर्ण मान्छु । आजसम्म प्राप्त गरेको उपलब्धीले आफू सन्तुष्ट रहे पनि संघर्ष भने अझै जारी रहेको गायक परियारको भनाइ छ । पछिल्लो समय नेपाली संगीत बजारमा देखिएका विकृतरूप उनले नियालीरहेका छन् तर, उनलाई यो विकृतरूप खासै नयाँ लाग्दैन रे । तैं चुप मैं चुप भनेझैं उनी पनि चुप छन् । सांगीतिक करियरमा थुप्रै बसन्त कटाएँ । हिजो संगीतमा लाग्दा त्यो विद्यार्थी विग्रन्छ भन्ने वातावरण थियो, आज यसैमा करियर बनाउन प्रेरित गरिन्छ । नेपाली संगीत बजार पनि परिवर्तित छ । प्रविधिका हिसाबमा सहज बन्दै गएको छ,उनी थप्छन्, तथापि, यस अवधिमा थुप्रै रहर र लहडका संगीतकर्मीहरू पनि बेहोरियो । यहाँ संगीत बजारलाई विकृत बनाउने उद्देश्यले कोही पनि आउँदैन तर, छोटो समयमै चर्चामा आउने लोभले बजार केही अस्थिर भएको भने पक्कै हो । र, यस्ता विषय समयानुसार स्वाभाविक प्रक्रिया हराउँदै, उदाउँदै जान्छन् । पछिल्लो समय नेपाली संगीत पारखीहरूको स्वाद केही बद्लिएको हो की भन्ने प्रसंगमा गायक परियार केही उदार देखिन्छन् । गीत संगीत मात्र होइन अब हरेक क्षेत्र समयानुकुल चल्न सक्नु पर्ने उनको धारणा छ । दर्शक स्रोताको मागमा विविधता छ, र सोहि विविधताकै कारण संगीतकर्मी बाँच्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले आ आफ्ना तरिकाबाट अभ्यास गर्न पाउँछ र त्यो उसको नैसर्गीक अधिकार पनि हो । त्यसैले संगीत बजार विकृत भन्दा पनि अभ्यासको उपज मात्र हो, यो स्थापित हुने या, विस्थापित हुने दर्शक स्रोता र स्वयं साधना गर्नेमा भर पर्दछ ।