आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

वनको जग्गामा त्रिपाल टाँगेर बसे बाढीपीडित

धनगढी — भजनी नगरपालिकाका पाँच सयभन्दा बढी बाढीपीडित परिवार यति बेला मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा बसिरहेका छन् । उनीहरू साउन १४ गतेको बाढीले विस्थापित भएका हुन् ।

अझै घर फर्कने अवस्था नभएकाले जंगलको बास भएको उनीहरूले बताएका छन् । ‘आकासमा कालो बादल मडारिरहेकै छ,’ बाढीपीडित खेमराज काफ्लेले भने, ‘हुलाकी सडकसमेत सुरक्षित नभएकाले यो ठाउँ रोजेका हौं ।’ उनका अनुसार कसैको घर पूरै भत्केको छ । कसैको आंशिक भए पनि बस्न लायक छैन ।

‘थोरै वर्षा भयो भने पनि बाढी आउने डर छ,’ उनले भने, ‘कुनै बेला पनि जीउज्यान जोगाउन फेरि हुलाकी सडकमा आउनुपर्ने अवस्था छ ।’ बाढीलगत्तैका आठ दिन हुलाकी सडकमा बिताएपछि उहाँ आएको उनले बताए ।

काफ्लेका अनुसार वडा नम्बर ८ कृष्णनगर, काडाढिक, बरचौड, खल्लागाउँका १ सय ६५, वडा नम्बर ३ दैलेखटोल, कुसुमघाट, बर्दुवाका १ सय १५, वडा नम्बर ५ कौवाखेडा, कालापत्थरका २ सय ५०, वडा नम्बर १ नमाबस्ती पदुवाफाटाका २० र वडा नम्वर ७ चर्रा ३५ परिवार विस्थापित छन् । सामुदायिक वनछेउको खुला ठाउँमा त्रिपाल टाँगेर दस दिनदेखि बसिरहेको उनले बताए ।

विस्थापितहरूले खानेपानी, रासन, शौचालय अभावमा समस्या भोग्नुपरेको वडा नम्बर ३ की सदस्यसमेत रहेकी जयसरा कामीले बताइन् । उनका अनुसार स्थानीय तहले १५ दिनका लागि दिएको रासन, आफन्तसँग लिएको सरसापटले गुजारा भइरहेको छ ।

 

‘हाम्रो पीडा–व्यथा नबुझेर केहीले जंगल कब्जा गर्न बसेका हुन् भन्ने आरोप लगाउन थालेका छन्,’ उनले भनिन्, ‘ज्यान जोगाउन आएका हौं । घरछेउ खोला आइसकेको छ । बर्खा हटेको छैन । कुनै पनि बेला फेरि बाढी आउन सक्छ ।’ उनले सरकारसँग डुबान समस्याको स्थायी समाधानको माग गरेकी छन् ।

अर्का बाढीपीडित वडा नम्बर ८ का भोजबहादुर कामीले हुलाकी सडकले आवतजावत सजिलो पारे पनि यसले डुबान समस्या बढाएको छ ।

‘हुलाकी सडक निर्माणअघि बाढी बस्ती र खेतमा पसे पनि फराकिलो भएर बग्ने गर्थ्यो,’ उनले भने, ‘तर अहिले सडक चेकड्यामजस्तो भएकाले नदी स्वाभाविक रूपमा बग्न पाएको छैन । पूर्वतिर रानी जमराको नहरले पनि डुबानको समस्या बढाएको छ ।’ उनका अनुसार उक्त बस्तीलाई स्थानीय कान्द्रा, काडा, मोहना र पथरिया नदीको बाढीले प्रभावित गर्ने गरेको छ ।

 

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले केही परिवार बाढीबाट विस्थापित भएर जंगलछेउमा बसेको बताए । तर, मोहन्याल सामुदायिक वनमा बसेकाहरु सबै बाढीपीडित नभएको उनको भनाइ छ । ‘वास्तविक विस्थापितको समस्या बुझिनेछ,’ उनले भने, ‘घर फर्कन नसकेका बाढीपीडितलाई राहत पनि दिएका छौं ।’

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation