नुवाकोट-पचकन्या गाउँपालिका ५ स्थित देउराली र उपरसेट टोलमा गरी १४ घर पहिरोको जोखिममा परेका छन् । अविरल वर्षाका कारण देउराली डाँडामा पहिरो गएपछि स्थानीय अनिल तामाङको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनको परिवार पहिरोस्थलभन्दा केही पर कटेरोमा बसेका छन् ।
उनलाई बिहीबार वडा कार्यालयले निरीक्षण गरेर पाल दिई कटेरो हाल्लेर सुरक्षित राखिएको वडाध्यक्ष डिल्लीबहादुर थापाले बताए ।
पहिरोले उनको घर भत्केको थियो । देउरालीमा बस्तीनजिक ठूलो पहिरो गएको छ । त्यहाँ रहेका अन्य ४ घरहरु उच्च जोखिममा छन् । उनीहरु अनेत्र जान नसकेर त्यही बसेका छन् । पहिरो ३ सय मिटर लामो छ । पहिरोले २५/२५ रोपनी खेत र बारीमा क्षति पुर्याएको वडाध्यक्ष थापाले बताए ।
त्यसैगरी देउरालीभन्दा तल उपरसेट टोलमा ९ घर उच्च जोखिममा छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका घरहरु लर्केर बसेका छन् । उनीहरु जोखिमयुक्त घरमै बसिरहेका छन् । कहीं जाने सक्ने स्थिति नभएको वडाध्यक्ष थापाले बताए ।
पञ्चकन्या गाउँपालिका २, ४ र ५ वडामा बाढी र पहिरोको जोखिम रहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताए । पहिरोले कसैको पिंढी त कसैको आँगन भत्किएको उनले बताए । बढी जोखिम वडा ५ को देउराली र उपरसेट टोलमा रहेको उनले जानकारी दिए ।
त्यसैगरी जिल्लाकै बेलकोटगढी नगरपालिका ५, विदुर नगरपालिकाका १०, १२, १३ वडामा बाढी पहिरोले सताएपछि स्थानीयलाई सुरक्षित राखिएको छ । ती नगरका वडामा जिल्ला दैविक प्रक्रोप समितिले अवलोकन गरी सुक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।