
काठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् । गौशालाका प्रहरी नायब उपरीक्षक डीएसपी जितेन्द्र बस्नेत बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।
अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गर्न खोजेको पीडित युवतीको दाबी छ ।
जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।
म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।
मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ )मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ । यस अनुसार अभियोग पुष्टि भए सिंहलाई साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुनसक्छ ।