सोमवार, फाल्गुन १४, २०८०

कोरोनाको तेस्रो लहर आएको निर्देशक डा. बास्तोलाको अनुमान

टेकु अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थाल्यो
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई साता यता कोरोनाभाइरस (कोभिड १९) संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । इमर्जेन्सीमा आउने अधिकांश बिरामी आईसीयूमा भर्ना गर्नुपर्ने अवस्थाका रहेको अस्पतालका निर्देशक डा.अनुप बास्तोला बताउँछन् ।

 

 

 

संक्रमणका कारण निमोनिया भइ फोक्सोमा दागैदाग भएपछि अस्पतालमा बिरामी आइपुग्ने गरेको उनले सुनाए । ‘स्वास्थ्य अवस्था जटिल भएपछि पिसिआर, एन्टिजेन परीक्षण नगरिकन सिधै अस्पताल आउने गर्नुहुन्छ,’ उनले भने, ‘श्वासप्रश्वास समस्या भई स्वास्थ्य अवस्था जटिल भएर आउनेलाई पिसिआर, एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ नै देखिन्छ । त्यस्ता मानिसलाई बचाउन गाह्रो हुन्छ ।’

 

 

कोभिडका कारण अन्तिम अवस्थामा पुगेपछि उपचारका लागि अस्पताल आउने केही बिरामीलाई चाहेर पनि बचाउन नसकिएको उनले सुनाए ।

 

 

कोरोना संक्रमण दर बढ्दै

 

 

कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन सहज थिएन । वैशाख र जेठ महिनामा कोभिड बिरामी अक्सिजन, आईसीयू भेन्टिलेटर र बेडको पखाईमा बस्नुपर्ने बाध्यता थियो । निषेधाज्ञा खुकुलो भएसँगै दुई साता यता इमरजेन्सीमा भर्ना हुन आउने बिरामी बढ्न थालेका छन् । पछिल्लो तीन दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ३५ जना संक्रमितसम्म इमर्जेन्सीमा उपचारका लागि आइपुगेको निर्देशक डा. बास्तोलाले बताए । दोस्रो लहरको अन्त्यतिर अस्पतालमा भर्ना हुने संक्रमित बिरामीको संख्या घटेर वार्ड, आईसीयूमा गरी जम्मा १४÷१५ जनामा झरेको उनले सुनाए ।

 

वैशाख–जेठ महिनामा संक्रमित बिरामीको ग्राफ उचाइमा पुगेर बिस्तारै ओरालो लागे पनि निषेधाज्ञा खुकुलो भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या विस्तारै उकालो लगिरहेको उनले सुनाए । तर, दोस्रो लहरमा संक्रमित भएकाहरु अब केही समयका लागि संक्रमित भई सिकिस्त हुने सम्भावना कम भएको उनले बताए ।

 

निर्देशक डा. बास्तोलाका अनुसार, दोस्रो लहरमा कति प्रतिशत संक्रमित भए भन्ने थाहा पाएको खण्डमा अब संक्रमणको अवस्था कहाँ पुग्न सक्छ भनेर निर्क्यौल गर्न सकिन्छ । समुदायमा कति प्रतिशत नागरिक संक्रमित भए, संक्रमित भएकाहरुमा रोग प्रतिरोधात्मक क्षमता विकास कति भयो भन्नेबारे अध्ययन गरेर वास्तविकता पत्ता लगाएको खण्डमा अब समुदायमा कोरोना संक्रमणको अवस्था कता जाँदैछ भनेर थाहा पाउन सकिने डा. बास्तोलाको भनाइ छ ।

 

कोरोना संक्रमणको तेस्रो लहर ?

 

 

 

वैशाख–जेठमा संक्रमितको संख्या उत्कर्षमा पुगेपछि सरकारले कडा निषेधाज्ञा जारी ग¥यो । त्यसपछि संक्रमण दर बिस्तारै घट्दै गयो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पुनः दुईसाता यता इमरजेन्सीमा भर्ना हुने बिरामी बढ्दै गएको डा. बास्तोलाले बताए । कोरोना संक्रमण दर र अस्पतालमा भर्ना हुने बिरामीको संख्या उचाइमा पुगेर ओरालो झर्दै केही समय स्थिरजस्तो देखिए पनि संक्रमण पुनः बिस्तारै उकालो लागिरहेको उनको भनाइ छ । त्यसैले यसलाई तेस्रो लहर पनि भन्न सकिने उनले बताए ।

 

दोस्रो लहरमा धेरै संक्रमित भएर एन्टीबडीको विकास भएको खण्डमा अब संक्रमित कम हुन सक्ने निर्देशक डा. बास्तोलाको अनुमान छ । यद्यपि, अध्ययन बिना नै अबको अवस्था कस्तो हुन्छ भनेर किटान गर्न नसकिने उनको भनाइ छ ।

 

कोरोना संक्रमित भइ समुदायमा कति प्रतिशतमा एन्टीबडीको विकास भएको छ ? कति मानिसले खोप लगाउन बाँकी छ र खोप पनि नलगाएका र कोरोना संक्रमण पनि नभएका कति छन् भन्नेबारे अध्ययनको खाँचो रहेको उनले सुनाए । पहिलो लहरमा कति संक्रमित भइ एन्टीबडी भए पनि एन्टीबडीलाई आक्रमण गर्नेखालको नयाँ भेरिएन्ट बनेको छ कि ? पहिलो मात्रा खोप लगाएका अथवा पहिलो र दोस्रो मात्रा लगाएका संक्रमित कति भएका छन् ? भन्नेबारे तथ्याङ्क निकालेर त्यसको अध्ययन, विश्लेषण गरेको खण्डमा अब संक्रमित कति हुन सक्छन् र संक्रमित भएर अस्पतालमा कति भर्ना हुन्छन् भन्ने कुरा आंकलन गर्न सकिन्छ ।

 

कोरोना विरुद्धको खोप लगाएकाहरुको आँकडा सरकारसँग छ । समुदायमा कति संक्रमित छन् भन्ने आँकडा पनि भएको खण्डमा अबको अवस्था के हुन्छ भनेर थाहा पाउन सकिने उनले सुनाए ।

 

उनका अनुसार पहिलो लहरमा कोरोना संक्रमणको फैलावटमा तीव्रता थिएन भने घातकता पनि कम थियो । पहिलो लहरमा संक्रमित हुने सबैमा लक्षण नदेखिए पनि एन्टिबडी विकास भएको थियो । पहिलो लहरमा युवा बढी संक्रमित भएकाले अस्पताल भर्ना हुने कम दर रहेको उनले सुनाए ।

 

कोरोनालाई सामान्य रुपमा लिँदा र जनस्वास्थ्यका नियम पालना नगर्दा संक्रमित र अस्पताल भर्ना हुनेको संख्या दोस्रो लहरमा बढेको उनको भनाइ छ । ‘ जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन विवाह, भोज, पार्टी, आन्दोलन तथा प्रदर्शन गरियो, त्यसपछि स्वाट्टै संक्रमितको संख्या बढ्यो,’ उनले भने, ‘दोस्रो लहरमा संक्रमितको ग्राफ ओरालो लागेपछि पुनः उकालो लाग्दै गरेका अवस्थालाई तेस्रो छालभन्दा फरक पर्दैन ।’

 

अब संक्रमित ह्वात्तै नबढ्न सक्छन्

 

निषेधाज्ञा खुकुलो भएपछि मानिसको भिडभाड बढेको छ । काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा धेरैले पहिलो वा दुवैमात्रा खोप पाइसकेका छन् । ‘पहिलो लहरबाट दोस्रो लहरमा आउने क्रममा अहिलेजस्तो खोप पाएका थिएनन्,’ डा. बास्तोलाले भने, ‘पहिलो लहरमा कोरोनालाई बेवास्ता गर्ने धेरैजसो दोस्रो लहरमा भाइरसको आक्रमणमा परे ।’

 

वर्तमान समयमा कुनै न कुनै पेसामा आवद्ध हुनेहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । दोस्रो लहरमा बिरामीका चापका कारण तत्काल अस्पतालमा भर्ना नपाउने, अक्सिजनको हाहाकारले बिरामीको ज्यान जाने अवस्था सिर्जना भएकाले हाल तुलनात्मक रुपमा मानिस अलि सचेत भएको डा. बास्तोला बताउँछन् ।

 

‘दोस्रो लहरमा संक्रमित भएर अस्पतालबाट घर फर्किएका, अस्पतालमा बिरामी कुर्ने आफन्त, कोरोनाकै कारण ज्यान गुमाएका परिवार तथा पोष्ट कोभिडका कारण स्वास्थ्यमा समस्या झेलेका धेरै मानिस सजग भएका छन्,’ उनले भने, ‘अब दोस्रो लहरमा जस्तो कोरोना संक्रमित र अस्पताल भर्ना हुने दर एक्कासी बढ्दैन कि !’

 

 

 

अस्पताल तयारी अवस्थामा  

 

कोरोना महामारीको सुरुवाती समयदेखि नै टेकु अस्पताललाई सरकारले कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । अन्य अस्पतालले कोरोना संक्रमित बिरामी लिन नमान्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धमाधम कोभिड बिरामीको उपचार गरेको थियो । टेकु अस्पतालले संक्रमितको उपचार गर्न थालेपछि बिस्तारै अन्य अस्पतालहरुले पनि कोभिड बिरामीको उपचार गर्न थालेका हुन् ।

 

कोभिड विशेष अस्पताल भएकाले कोरोना संक्रमण घटेर अन्य अस्पतालको बेड खाली हुँदा पनि टेकु अस्पतालमा कोभिड संक्रमित बिरामी उपचारका लागि पुग्ने गर्छन् । सरुवा रोग अस्पतालमा कोभिड बिरामीका लागि करिब १०० बेड रहेको डा. बास्तोलाले सुनाए ।

 

तेस्रो लहरको पूर्वतयारीका लागि अक्सिजन प्लान्टको व्यवस्था, स्वास्थ्य पूर्वाधार र स्वास्थ्य जनशक्ति समेत तयारी अवस्थामा राखेको उनले सुनाए । स्वास्थ्य पूर्वाधारसँगै ८० जना स्वास्थ्य जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

 

उनका अनुसार इमर्जेन्सी तथा अन्य वार्डका बिरामीलाई आवश्यक पर्ने अक्सिजन सिलिन्डर नै बेडमा लैजानुपर्ने बाध्यतालाई हटाएर पाइप सिस्टम बनाइएको छ । आईसीयूमा मनिटर नै बोकेर उपचारका लागि हिँड्नुपर्ने समस्या समाधान गरिएको र अस्पतालको क्षमताअनुसार स्वास्थ्य पूर्वाधार, जनशक्ति सबैलाई तयारी अवस्थामा राखिएको अस्पतालका निर्देशक डा. बास्तोलाले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation