काठमाडौँ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आगामी सङ्घीय संसद्को अधिवेशन यही भवनबाट चल्नुपर्ने भएकाले पछिल्लो समय काममा देखिएको प्रगतिले आशावादी तुल्याएको प्रतिक्रिया दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “जुन गतिबाट यो बन्नुपर्छ भन्ने लागेको थियो, त्यो स्पिड अझै आउन सकेको देखिन्न । तथापि पहल गरिरहेका छौँ, निर्माण व्यसायी लागि रहनुभएको छ, आगामी सदन यसै भवनबाट चल्ने गरी भवन हस्तान्तरण गरिनुपर्छ ।”
सहरी विकासमन्त्री कुमार इङनामले आगामी चैत १ गते कम्तीमा पनि प्रतिनिधिसभा, सेन्टर लबी र चमेना गृह हस्तान्तरण गर्ने हिसाबले प्रतिबद्धताका साथ काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आगामी सङ्घीय संसद्को बैठक नयाँ भवनबाटै चल्ने व्यवस्थाका लागि प्रतिबद्धताका साथ काम अघि बढाइएको छ, त्यसका लागि भवन निर्माणमा संलग्न कम्पनीलाई आगामी चैत १ गते प्रतिनिधिसभा, सेन्टर लबी र चमेना गृह हस्तानतरण गर्नुस् भनिएको छ । आशावादी छाँै, अरू विकल्प पनि छैन ।”
भवन निर्माणका लागि दिइएको समय र कामको गति एवं प्रगतिका आधारमा त्यो समयभित्र भवन हस्तान्तरण गर्न अझै थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गर्दै मन्त्री इङनामले अहिले भवनको आन्तरिक ‘फिनिसिङ’को तथा सभाहलमा जडान गर्नुपर्ने केही उपकरण विदेशबाट ल्याउनुपर्ने जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































