काठमाडौँ, बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको छ ।
सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलद्वारा प्रस्तुत ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा प्रलेसले नेपालको राजनीतिक परिवर्तनको कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप र साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम गरेको बताउनुभयो । उहाँले वैचारिक सुदृढीकरण, साहित्यिक सृजना, समीक्षा, प्रकाशन, सङ्गठन, सङ्घर्ष, स्रष्टा हकहित र फरकफरक वाम समूहमा रहेर पनि प्रलेसभित्रको ऐक्यबद्धतामा जोड दिनुभयो ।
प्रलेसका सल्लाहकार डा विदुर चालिसेले ‘बूढानीलकण्ठ नगरपालिका ः प्रगतिशील साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकामा कविता वाचन, पुस्तक विमोचन र साहित्यिक सम्मेलनहरू नियमित हुन थालेको बताउनुभयो । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले कला, साहित्य र संस्कतिका क्षेत्रमा आफूहरूले सहकार्य बढाउने बताउनुभयो ।सङ्घका अध्यक्ष डा देवी क्षेत्री दुलालले नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउँदै प्रगतिशील साहित्यको अनुसन्धान तथा अभिलेखकीकरण कार्यलाई व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



















































































































































