यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो । विसं २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकामा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको समितिका सदस्य सचिव खड्काले बताउनुभयो । सिफारिस समितिको संयोजक सांसद सूर्य थापा, सदस्यमा तीर्था गौतम र सदस्य सचिवमा खड्का रहनुभएको छ । पुरस्कार यही फागुन २१ गते यदु स्मृति दिवसका अवसरमा रु २० हजारसहित प्रदान गरिनेछ । यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।


































































































































































