
कैलाली। ७ औं बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको छैटौँ दिन आज आइतबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड आउने भएका छन् । आइतबार गायक खाँड सहित, चर्चित गायिका सोनु कुस्मी र चर्चित गायिका तथा उद्घोशिका कल्पना कुसुम आउने तय भएको महोत्सवका कलाकार संयोजक दिपक गौतमले जानकारी दिए । साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
महोत्सवमा खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था पनि गरिने आयोजकले बताएका छन् । यसैगरी महोत्सवलाई थप आकर्षक पार्न महोत्सव स्थलमा थारु गाउँ समेत रहनेछ जहाँ विभिन्न प्रकारका थारु परिकार सङ्गै थारु कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ मा यसपटक बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् । पुस ९ गतेदेखि १८ गते सम्म संचालन हुने महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र विद्यार्थी अपाङ्ग भएका व्यक्तिका लागि ७० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।