कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी करिब ८० करोडको बजेट सार्वजनिक गरेको छ । जुन चालु आर्थिक वर्ष २०७९/०८० भन्दा करिब ३ करोड बढी हो । आइतबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले ७९ करोड ८६ लाख १३ हजार १ सय २४ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
सङ्घीय सरकारबाट प्राप्त हुने निशर्त अनुदान (वित्तीय समानिकरण अनुदान) ११ करोड ३ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ १४ करोड २३ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान पुँजीगत तर्फ २ करोड ३२ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने विशेष अनुदान पुँजीगत तर्फ ५ करोड १० लाख, सङ्घीय सरकारबाट समपूरक अनुदान २ करोड र सङ्घीय सरकार राजस्व बाँडफाँडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय र सामाजिक सुरक्षा भत्ताका लागी प्राप्त हुने २० करोड गरी जम्मा ६४ करोड २८ लाख ८ हजार ६ रुपैयाँ सङ्घीय सरकारबाट प्राप्त हुने भएको छ ।
यस्तै प्रदेश सरकार वित्तीय समानिकरणबाट ९४ लाख ८ हजार, प्रदेश सरकार विशेष अनुदान ७० लाख, प्रदेश सरकार समपूरक अनुदान ६० लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट २३ लाख ६२ हजार गरी जम्मा २ करोड ४७ लाख ६९ हजार प्रदेश सरकारबाट प्राप्त हुने जनाइएको छ ।
यता गाउँपालिकाको आन्तरिक स्रोत १ करोड ५० लाख र अन्य श्रोतबाट १ करोड गरी २ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । यस्तै विभिन्न संस्थाहरूबाट कार्यक्रमका लागी १ करोड ७७ लाख ३३ हजार ६ सय ४ रुपैयाँ प्राप्त हुने र बैङ्क मौज्दात (अ.ल्या.) ८ करोड ६८ लाख ५१ हजार ९ सय २० रहने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० का लागी अनुमान गरिएको कुल बजेट ७६ करोड ७० लाख ५५ हजार मध्ये जेठ मसान्त सम्म ५१ करोड ५३ लाख ५५ हजार २ सय ३४ रुपैयाँ मात्र प्राप्त भएको बजेट उपाध्यक्ष गिरिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकामा प्राप्त आम्दानीको चालुतर्फ ८१.७१ प्रतिशत र पुँजीगत तर्फको ७७ प्रतिशत खर्च भएको समेत जनाइएको छ ।

































































































































































