
माल्टा । जीवनभर परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधनमा ओलानी पूरैगाउँ शोकमा डुबेको छ । सामाजिक परिवर्तनका पक्षमा लाग्न हौसला दिने आमाको निधनले परिवर्तनकारी युवालाई ठूलो यतिबेला चोट परेको छ।शारीरिक रुपमा अशक्त आमाको मुहार सधैं हँसिलो देखिन्थ्यो । राम्रा काम गरेका युवालाई सकिनसकी भेटेरै काँधमा धाप मारेर बधाई तथा शुभकामना दिने आमालाई सबैले सम्झि रहेका थिए । सामाजिक विभेदका विरुद्ध युवाहरुले बोल्नुपर्ने भन्दै उर्जाथप्ने आमाको निधनमा दुःख प्रकट गर्न आएका सबैको आँखामा आँशु देखिन्थ्यो ।
घरको आँगनमा राखिएको पार्थिव शरीर माथि श्रद्धापूर्वक खादा फूलमालाले सम्मान व्यक्त गरिरहेको दृश्य निकै घतलाग्दो थियो । घरको यत्रतत्र छरिएका जोकोही पनि आमाको मिजासिलो व्यवहार र क्रान्तिकारी छविको प्रशंसा गरी रहेका थिए । मत्युपछि पनि यतिधेरै प्रशंसा पाएको यस गोदावरी नगरपालिकाको ओलानीमा पहिलो व्यक्ति उहाँ नै भएको गोदावरी खानेपानीका अध्यक्ष कृष्ण पुनेबाटीले भावुक हुँदै बताए । उनले भने –“ आमाको मृत्युले समाजलाई ठूलो चोट परेको छ । उहाँको अभाव हामीलाई सधैं भईरहने छ ।
”जीवनभर सामाजिक परिवर्तनका पक्षमा उनी निरन्तर लागि रहिन् । छाउपडी कुप्रथाले ग्रसित समाजमा उनले छाउपडी कुप्रथाको बारेमा बोल्ने हिम्मत गरिन् । गाउँघरमा जताततै छाउपडी गोठमा महिलालाई पशु सरह राखेको उनलाई पटक्कै मन परेको थिएन । २०५८ सालदेखि परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै महिनावारी भएका आफ्ना छोरीलाई उनले घरमा राखिन् र आफूपनि घरभित्रै बस्न थालिन् । उनले घरमा बस्ने र बसाल्ने मात्र काम गरिनन् महिनावारी हँुदा खाना पकाउने, गाई दुहुने सम्मका सबै कामको थालनी गरिन् । परिवर्तनका पक्षमा उभिदा उनले सामाजिक चुनौतीको पनि सामना गर्नु प¥यो ।
त्यसैगरी जातीय छुवाछूतको पनि उनले सधै विरोध गरी रहिन् । समाजमा जातीय छुवाछूत व्याप्त भइरहेको बेला दलित भित्रहुने छुवाछूतका विरुद्ध दरो रुपमा उभिईन् । दलित भित्रै अछूतमा रहेकालाई भान्सामा बोलाएर संगै खाना खाने र चाडपर्वमा टीका थाप्ने कामको पनि उनले सुरुवात गरिन् । चम्फादेवीले गाउँघर र समाजलाई सरसफाई राख्नुपर्छ भन्दै सचेतनाको आवाज पनि उठाई रहिन् ।
यसरी आफ्नै घरबाट परिर्वतनको सुरुवात गरी समाज परिवर्तनमा लागेकी चम्फादेवी बिकको .२०१८ साल कार्तिक ३० गते जन्म भएको हो । अछाम जिल्लाको तत्कालीन साविक दुनि गाविस चौखुट्टे लिउसनमा बुवा काले लुहार र आमा पार्वती लुहारको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । २०८० साल कार्तिक १० गते शुक्रबारका दिन सेती प्रादेशिक अस्पताल धनगढीमा ६२ बर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छोरा कृष्ण बिकले बताए । उनले भने –“ हाम्रो परिवारलाई परिवर्तनको बाटोमा आमालेनै हिडाउन सिकाउनु भएको हो । सामाजिक विभेदका विरुद्ध बोल्ने हिम्मत र साहास आमाबाटै मिलेको हो ।
”बाँचुन्जेल क्रान्ति गरेकी चम्फादेवीले यो संसारबाट बिदा भएर पनि क्रान्तिकै उद्घोष गरेर गइन् । उनले घरपरिवार र समाजका व्यक्तिलाई भनेकी रहिछन् “म मरेपछि मेरो किरियाँ नगरिदिनु । मेरो घरपरिवारले मेरालागि बाँचुन्जेल केहीपनि बाँकी नराखेर मेरो सेवा गरेकाछन् ।” बाचुन्जेल वास्ता नगर्ने मरेपछि समाजलाई देखाउनकै लागि गरिने कर्मकाण्ड वाह्यिात हो । मरेका मान्छेले पाउछन् भनेर पिण्ड बगाउने, बाहुनलाई दान दक्षिणा दिने, सुत्ने खाटदिने,लुगाकपडा दिने, खानेकुरा दिने,किरियाँ बसेकाले कसैलाई नछुने यस्तो ढोंगी नाटक आफू मरेपछि नगर्नु भनेर घरपरिवार र समाजलाई आमाले सधैं भन्ने गरेको समाजसेवी एवम् बुद्धिजिवी टेक बिकले बताए ।
ओलानीले आज परिवर्तनकारी आमा गुमाएको छ । क्रान्तिकारी आमाको निधनले पूरै गाउँ शोकमा डुबेको गोदावरी नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए । उनले सम्झिए म वडा अध्यक्षतामा निवार्चित हुँदा समयले परिवर्तन खाजेको थियो आज सफल भएको भन्दै खुसीले गद्गद् हुनु भएको थियो । विकले भने –“ आमा हामी सबैको साझा क्रान्तिकारी आमा बन्नु भएको थियो । हामीलाई परिवर्तनको बाटो देखाउँदै निरन्तर अगाडी बढ्न हौसला दिनु हुन्थ्यो ।
कार्तिक ११ गते शनिबारका दिन अन्तिम दाहसंस्कारको लागि पार्थिव शरीर शव बाहनमा राखेर गोदावरीमा लगियो । बाटोमा जाँदैगर्दा बोराडाँडीमा नेपाली सेनाले आमालाई सम्मान गर्दै सलामी दियो । क्रान्तिकारी आमाले मृत्युपछि पनि राष्ट्रसेवकबाट सम्मान पाएकोले निकै खुसी लागेको छोरी कविता बिकले बताईन् । नेपाली सेनाको श्रद्धाको कामलाई मलाम गएका सबैले मुक्तकन्ठले प्रशंसा गरेको उनी बताउँछन् ।
दिउँसोको ३ बजेको समयमा गोदावरी खोलाको किनारमा आमाको पार्थिव शरीर जलिरहेको थियो । सुनसान जंगलको बीचमा रहेको खोलामा चराहरुको चिरबिर आवाज आईरहेको थियो । खोलाको पश्चिमतर्फ आमाको हार्दिक श्रद्धान्जली लेखिएको ब्यानरको तस्बीरले जरिहेको शव हेरी रहेको र्झै देखिन्थ्यो । यो सबै दृश्य देखेर मलामी सबै स्तब्ध बनेका थिए भने कोही भावुक बनेर रोहीरहेका थिए ।
क्रान्तिकारी आमाको छवीले शव जलेर खरानी भईरहेको घाटमा पनि परिवर्तनको कुरागर्न प्रेरित गरी रह्यो । घरका परिवार र मलाम गएका सबै खोलाको किनारमा एकठाउँमा जम्मा भएर किरिया ँगर्ने नगर्ने बारेमा छलफल भयो । समाज परिवर्तनमा लागेका गोदावरी कृषि विकास सहकारीका अध्यक्ष एवम् श्री सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक समेत रहेका छोरा कृष्ण बिक आमाले भने बमोजिम नै किरियाँ नगर्ने पक्षमा उभिए । उनको निर्णयलाई बृद्धबुवा, दिदीबहिनी भाई र परिवारका अन्य सदस्यले पनि साथ दिए । घाटमा पनि परिवर्तनकारी निर्णय गरेकोमा मलामी सबैले कृष्ण बिकको परिवारको तारिफ गरेको लम्कीचुहाबाट शोकप्रकट गर्न घाटमै पुगेकी नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिष्ना बिसी सपनाले बताईन् ।
क्रान्तिकारी आमाको परिवर्तनकारी विचारको प्रभाव पूरै ओलानीमा परेको मैले पाए । सामाजिक विभदेका विरुद्ध आमाले एक्लै गरेको क्रान्ति कूनै युद्धभन्दा कम लागेन मलाई । परिवर्तनको ठूलो सामाजिक क्रान्ति हो यो । आमाको योगदानको समयले मूल्यांकन जरुर गर्नेछ र गर्नैपर्छ । परिवर्तनका पक्षमा लागेका जोकोहीले आमाको सामाजिक योगदानको उच्च सम्मान र कदर गर्दै मृत्युपरोणान्त सम्मान गर्नुपर्ने बिसीले बताईन् । क्रान्तिकारी आमाको प्रशंसा गरेका ओलानीका परिवर्तनकारी युवाहरुहरुले आमाको योगदानको सम्मान गर्न नचुक्ने विश्वास आफूले गरेको बिसी बताउछन् ।
बिसीले भनिन् –“ शवसंगै यस ठाउँका महिलाहरु मलामी भएर अहिलेसम्म घाटसम्म कोही पुगेका रहेनछन् । पहिलो पटक मलामी भएर घाटमै पुगेको कृष्ण सरका दिदि र बहिनी रहेछन् ।” फेरीपनि अर्को नयाँ सामाजिक क्रान्तिको आजबाट सुरु गरेकाछन् । आमाले परिवर्तनको बाटो देखाएकोले हामी छोरा र छोरी सबै परिवर्तनकै पक्षमा रहेको छोरी रेखा सुनारले बताईन् ।
सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक गणेश बिकले क्रान्तिकारी आमाको निधनले आफू निकै दुःखी भएको बताए । केही समय पहिले मेरो बुवा बितेको बेला मैलेपनि किरियाँ गरिन् । मेरो निर्णयमा मेरा परिवारले साथ दिएनन् । गाउँसमाज मिलेर सबैले मलाई एक्लो बनाए । आमा चम्फादेवी बिकले मात्र मलाई साथ दिईन् । छोराले धेरै राम्रो काम गरेको भन्दै मेरो हिम्मत बढाउने काम गरिन् । जिउँदोछँदा वास्ता नगर्ने मरेपछि बाहुनलाई दानदक्षिणा दिने यो संस्कार गलत हो,म मरेपछि मेरो किरियाँ नर्गनु भनेर समाजलाई सुनाउँदै आफूले गरेको निर्णयको पक्षमा उभिएको उनले घरीघरी सम्झिए ।
युरोपमा बस्दै आएका कैलाली अत्तरिया घर भएका दिनेश नगरीले परिवर्तनकारी आमा उदाहरणीय आमा भएको बताए । विभेदपूर्ण समाजमा आमाको घरमा आफू घरपरिवारका सदस्यझैं सम्मानपूर्वक मिलेर बसेको र आमाको व्यवहारले कहिल्यै पनि जातीय छुवाछूतको महसुुस गर्नु नपरेको नगरीले बताए ।
तत्कलीन समयका वडा अध्यक्ष एवम् नेकपा एमालेका नेता भानसिंह बिकले अलग्गै बसेर हिन्दु संस्कार अनुसार किरियाँ नगरेको र सबैसंग बसेर परिवारका सदस्यले शोकमात्र मनाएको बताए । १३ दिनको दिन शोक श्रद्धाञ्जलीसभा आयोजना गरेर आमाको सामाजिक योगदानको बारे चर्चा गरिएको छोरा कृष्ण बिकले बताए । शोकको समयमा साथदिने समाजलाई धन्यवाद् दिदै उनले मृतक आमाको संघर्षको जीवनगाथा सुनाएका थिए ।
चम्फादेवीले ६ वर्षको बाल्यावस्थामै ममतामयी आमा गुमाइन् । चार दिदिबहिनि एक भाईको हेरचाह गर्ने जिम्मेवारी पनि उनीमाथि थपियो । आमा गुमाएको केहि वर्षमै एकमात्र कान्छो भाईपनि चम्फाले गुमाउनु प¥यो । पहाडमा निकै कष्टपूर्ण जीवन जीउनु परेपछि कान्छा बुवाका छोराले तराईमा आफु संगै लिएर आएका थिए । तराई आएकै वर्ष चम्फाले अछाममा रहेका बुवालाई पनि गुमाईन् । सानै उमेरमा एकपछि अर्को परिवारका सदस्य गुमाउँदाको पीडा कलिलो उमेरमा सहनु प¥यो ।
१४ बर्षको कलिलो उमेरमा डोटि जिल्ला, सानागाउँ बस्ने गगन सिंह विक संग २०३२ सालमा विवाह भयो । उनले ५ वटा छोरी २ वटा छोरा गरी ७ वटा सन्तानलाई जन्म दिईन् । २ वटा सन्तान भएकी जेठानीको निधन भएपछि तीदुई सन्तानको संरक्षण गर्ने कामपनि चम्फादेवी आफैले गरिन् । दुःखीलाई दुःखमाथि दुःख भनेजस्तै घरको कामगर्ने बेला कम्मरमा लागेको चोटले उनी थला परिन् । उपचारको लागि उनका श्रीमान् गगनसिंह विकले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराए पनी चम्फादेवी पहिलेको जस्तै अवस्थामा फर्कन सकिनन् । श्रीमतीले सामाजिक परिवर्तनका पक्षमा उभिदै आफ्ना मनका रहहरु मारेर परिवारको लागि ठूलो त्याग गरेको कहिल्यै बिर्सन नसिकने गगनसिंहले बताए ।