काठमाडौं । प्रारम्भिक बालविकास विज्ञ सविता खनालद्धारा लिखित बाल चित्रकथा ‘कार्याको जङ्गल–यात्रा’ विमोचन गरिएको छ ।वरिष्ठ साहित्यकार प्रा. डा. प्राज्ञदेवी नेपाल, नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव घिमिरे, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मानवअधिकार अभियन्ता वरिष्ठ साहित्यकार डा. कृष्ण सुवेदी, अरुणिमा इजुकेशनल फाउण्डेशनका कार्यकारी प्रधानाध्यापक इश्वरी लामिछाने, बालप्रतिभा प्रणव ढकाल र रिदिका भण्डारीलगाएतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
समारोहमा विशेष अतिथि नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव घिमिरेले बाल चित्रकथा भन्दा बाल सचित्र कथा लेख्दा राम्रो हुने बताए । उनले कथामा सरलताका साथै छोठो मिठो तरिकाले वर्णन गरिएको कथाको पात्र छनौटले कथा झन् सुन्दर बनाएको सुनाए ।
प्रा. डा. घिमिरेले बालकथामा तीनवटा अ (अवलोकन, अध्ययन्, अन्तरक्रिया)को प्रयोगले कथा उत्कृष्ठ बन्ने बताए । उनले संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिनुपर्ने बताउँदै कृति प्रकाशन गरिसकेपछि भन्दा कृति प्रकाशन अघि नै अन्तरक्रिया गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. प्राज्ञ देवी नेपालले रमाइलो किस्सा सुनाउँदै बाल साहित्य लेखकले बालबालिकालाई नै समिक्षा गर्न दिइयो भने अझ राम्रो र सुन्दर कृति उत्पादन गर्न सकिने बताए । उनले बालबालिकालाई महत्व दिएर रचना गरिएका बाल साहित्य उत्कृष्ठ हुने बताए । उनले बाल साहित्यको स्रष्टा प्रत्यक बालबालिकाबाट परिक्षण भएको भएकै हुने भएकोले अलोचना सहन नसक्ने स्रष्टा बाल साहित्यकार हुन नसक्ने बताए ।
प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मानवअधिकार अभियन्ता, वरिष्ठ साहित्यकार डा. कृष्ण सुवेदीले युरोपियन देशहरूमा बालबालिकालाई धेरै भन्दा धेरै लगानी गर्ने र बालबालिकालाई एकदम महत्व दिने गरेको पाइएको बताए । उनले अब लेख्ने बाल साहित्यले हाम्रो समाजको असल संस्कृतिको खोजी गर्नुपर्ने बताए । उनले बालबालिकाको संख्या घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले भोलि युवाहरूको संख्या अझै घट्दै जाने अवस्थाबारे चर्चा गरे । असल संस्कृतिको जगेर्ना गर्दै भोलिको सुन्दर समाजका लागि बालबालिकालाई महत्त्व दिने र सुसंस्कृतिको शिक्षा दिनुपर्ने उनले बताए ।
स्रष्टा खनालले अरूणिमाको आँगनमा आफ्नो कृति ‘कार्याको जङ्गल–यात्रा’ लोकार्पण गर्न पाउँदा गौरव लागेको बताइन् । उनले विभिन्न विद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्दा बालबालिकाको मनोभाव बुझ्ने तथा उनीहरूका अधिकारबारे थाहा पाउने अवसर र अनुभवले यस कृतिको जन्म भएको बताइन् ।
उनले पहिलो कृति ‘प्रारम्भिक बालविकासको विषयगत क्रियाकलापको नमुना हाते पुस्तिका’ शिक्षक साथीहरूमाझ निकै रुचाइएको पनि बताइन् । इटर्नल पब्लिकेशनद्वारा प्रकाशित ‘कार्याको जङ्गल–यात्रा’मा नौ वटा कथाहरू समावेस छन् । १८५ रूपैयाँ मूल्य रहेको कथा संग्रहका भित्री पृष्ठहरू पनि रङ्गीन चित्रसहित अकर्षक रहेका छन् ।





















































































































































