
सुर्खेत । ठाटीकाँध गाउपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन । जिन्दगी बदल्न र पैसा कमाउन बिदेश जानुपर्छ भन्ने उनको सोच थियो । त्यही शिलशिलामा काठमाडाैंमा बसेर कोरिया जाने तयारीमा थिए ।करिब एक वर्ष तयारी गरे । पढाईमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परिक्षामा सोचेजस्तो नतिजा आएन । त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो । लामो समयसम्म पनि माल्टाको भिसा आएन् । बिदेशको भिसा नआए पछि झनै मन आत्तिन थाल्यो । घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो । दिनरात गन्दै बिदेशको भिसा नआएपछि उनले बाटो मोडे ।
बाटो मोडेर बिदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उनमा नयाँ सोच पलायो । नेपालमा निराशै निराशा भएका बेला पनि नेपालमा लगानी गर्ने बाताबरण थिएन । त्यही पनि पहिलो पटक व्यवसायमा हात हालेका लबराजलाई व्यवसाय सम्बन्धी कुनै अनुभव थिएन । जस्ले गर्दा उनी चिन्तित थिए ।ब्यावसय गर्ने सोच बनाइ रहँदा सिन्धुपालचोकका कुखुरा व्यवसायी कृष्णा खड्कासँग भेट भयो । दुई जनाले साझेदारीमा कुखुरा फर्म सञ्चालन गर्ने सहमति पश्चात् ब्यावसाय सुरु गरेको लबराज थापा बताउँछन् । ‘बिदेशको सपना देखेको मैले नेपालमा सम्भावना छैन भन्ने लाग्थ्यो,’ उनले भने, ‘विदेश जान पासपोर्ट र पैसा बोकेर हिडेको थिएँ विदेश जानका लागि तयार गरेको सबै पैसा कुखुरा फर्ममा लगानी गरे ।’
त्यतिखेर कोरोना भाइरसको ठुलो त्रास थियो । जतासुकै कोरोना फैलियो । कुखुरामा देखिएको रोगले उनीहरुको फर्म घाटामा गयो । त्यसपछि उनी आफ्नै गाउँ ठाटीकाँध फर्किए । गाडी भाडा समेत अरुसँग जोहो गरेर घर फर्किएका लवराजसँग व्यवसाय गर्ने आँट थियो, पैसा थिएन् । केही पैसा विदेश जाने तयारीमा खर्च गरे । केही पैसा कुखुरा व्यवसायमा खर्च भयो । केही नगरी एकछिन पनि बस्न नसक्ने लवराजलाई पैसाको अभावले गर्दा व्यवसाय सुरु गर्न आँट पुगेको थिएन ।
कहाँ जाउँ के गरुँ भन्दै आत्तिएका लबराजले सहकार्य परियोजनाले युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रमबारे सुचना पाए । गाउँमै बसेर केही गर्न चाहने युवाहरुको लागि सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनासँग युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रम थियो । उनी त्यही कार्यक्रममा छनौट भए । संस्थाले उनलाई अण्डा उत्पादनका लागि २ सय चल्ला उपलब्ध गरायो । अण्डा उत्पादनका लागि ६ महिनासम्म उनले कडा परिश्रम गरे । उनको दैनिकी कुखुराको हेरचाहबाट सुरु हुन्थ्यो । अण्डाबाट राम्रै आम्दानी गर्न सफल भएका लवराजले बोइलर व्यवसाय र बँगुर पालन पनि शुरुवात गरेको बताए ।
अहिले लबराजसँग ७ सय भन्दा बढी बोइलर छन् । सामान्यतया बोइलर ३ केजी सम्मका बेच्ने गरिन्छ तर पनि ८ देखि १० केजी सम्मका हुने गर्दछन् । बोइलर जति धेरै ठुलो भयो ग्राहकले त्यति रुचाउने भएको हुदाँ लामो समयसम्म पाल्ने गरेको उनी बताउँछन् ।
केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटि भएका लबराजलाई नयाँ प्रविधिमा पनि त्यतिकै रुची छ । परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले व्यवसाय गर्ने सोच भएको उनको भनाई छ । कुखुरा फर्ममा आफैले निर्माण गरेको आधुनिक स्वचालित प्रविधि निर्माण गरेको बताए । जसरी क्रसरले बालुवा र गिट्टी एकै पटक अलग अलग गर्दछ त्यसैगरी अण्डा, पानी, दाना सबै एकै पटक अलग-अलग व्यवस्थापन गर्न सजिलो हुने गरी प्रविधिको विकास गर्दैछु,’ उनले भने, ‘अहिले हामीसँग प्रविधि नहुँदा श्रम बढी लाग्ने र श्रम बढी हुदाँ महंगोमा उत्पादन हुने समस्या रहेको छ ।’ ‘मेरा सफलता अनि असफलताका आफै कथाहरु छन्,’ उनी भन्छन्, ‘आफ्नै कथा अरुलाई सुनाउन पाउँदा आफैलाई खुशी लाग्दो रहेछ । मेरो जिन्दगीका सफलता अनि असफलताहरुको कसैको जिन्दगीका लागि सिकाई हुन सक्दछन् ।’
उमेरले २४ वर्ष पुगेका थापाको श्रीमती र एक छोरी छन् । ‘आफूसँग केही गर्नुपर्छ भन्ने हुटहुटी थियो र त आज सफल हुँदै गइरहेको छु,’ उनी भन्छन, ‘मसँग पहाडलाई अलि परसम्म धकेल्ने साहस छ तर, सहयोग अरुको पनि चाहिन्छ ।’
बिदेश जाने सपना बोकेका लबराजले बिदेशमा बगाउने पसिना स्वदेशमै बगाउदा स्वदेशमै मनग्य आम्दानी गर्दै आएका छन् । ‘पहिले स्वदेशमा गरेपनि केही हुँदैन भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘पहिलो कुरा मेहनत र आफूलाई विश्वास गर्दै म सक्छु भन्ने भावनाका साथ मेहनत गरे सफलतामा पुगिनेछ’ । स्देशमै मेहनत गर्दै परिवारसँग रमाउदै व्यवसाय गर्दै आउनुभएको थापाले वार्षिक ७ देखि ८ लाखसम्म आम्दानी गर्दै आएकाे उनले बताए ।कुखुराको आधुनिक खोर र प्रविधिको प्रयोगमा संस्थाहरुले सहयोग गरेको भए गाउँमै रोजगारीको श्रृजना गर्न सकिने उनी बताउँछन् ।