
काठमाडौं । ब्राजिलले पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक फर्नान्डो डीनिजलाई बर्खास्त गरेको छ ।ब्राजिल फुटबल संघका अध्यक्ष एडलान्डो रोद्रिगेजले डीनिजलाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकबाट हटाएको जानकारी दिएका छन् । डीनिज उनलाई गत जुलाईमा एक वर्षका लागि राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको थियो ।डिनिजले फिफा विश्वकप छनोटका ६ खेलमा ब्राजिलको नेतृत्व सम्हालेका थिए । जसमा ब्राजिलले दुई खेलमा मात्र जित हासिल गरेको थियो भने तीन खेलमा हार बेहोरेको थियो ।
ब्राजिलले हाल रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरेपनि उनले रियलसँग २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।अध्यक्ष रोद्रिगेजले अहिलेका लागि राष्ट्रिय टिमको जिम्मेवारी साओ पाउलोका प्रशिक्षक डोरिभल जुनियरले सम्हाल्ने बताएका छन् भने स्थायी प्रशिक्षकको खोजी जारी रहेको बताएका छन् । रोद्रिगेजको अध्यक्षमा पुनर्बहाली भएलगत्तै प्रशिक्षक बर्खास्तीको निर्णय आएको हो ।
हाल ब्राजिलको फुटबल संघमा सरकार र अदालतको हस्तक्षेप बढे पछि फिफाले समेत हस्तक्षेप नरोकिए निलम्बन गर्ने चेतावनी दिएको थियो ।रियो दी जेनेरियो अदालतले अध्यक्ष र उनको कार्यसमितिलाई सन् २०२२ को निर्वाचनमा अनियमितता गरेको फैसला गरेपछि डिसेम्बर ७ मा पदमुक्त भएका थिए । तर उच्च अदालतले उनीहरुको पक्षमा फैसला गरेपछि रोद्रिगेजसहितका पदाधिकारी फुटबल संघमा फर्किएका हुन् ।