कर्णालीमाथि सुदूरपश्चिम प्रदेश १३४ रनले विजयी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रन अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।सुदूरपश्चिम प्रदेशले दिएको २७८ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३७.२ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।कर्णालीलाई अल आउट गर्नेक्रममा शेर मल्लले सर्बाधिक ४ विकेट लिएका थिए भने बिकाश आग्रीले २ विकेट लिएका थिए ।यसअघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि खड्क बोहोराले सर्बाधिक ८० रन बनाएका थिए भने टेक रावतले ५९ र किरण ठगुन्नाले ५० रन बनाएका थिए ।यो जितपछि सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ । त्यस्तै कर्णाली प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।अब सुदूरपश्चिम प्रदेशले अर्को खेल बिहिबार भैरहवामा गण्डकी प्रदेशको सामना गर्ने छ । त्यस्तै कर्णाली प्रदेशले बुधबार भैरहवामा नै लुम्बिनी प्रदेशको सामना गर्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१