
यमन । अन्तराष्ट्रिय मुख्य शिपिंग मार्गमा इरान समर्थित हुथी समूहले बेलायती तेल कार्गो जहाजमा हमला गरेका छन । पछिल्लो घटनामा यमनको हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेपछि अडेनको खाडीमा एउटा तेल ट्याङ्करमा आगो लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
समाचार अनुसार बेलायती तेल ट्याङ्कर मर्लिन लुआन्डाका अपरेटरले शुक्रबार भने कि ‘जहाजलाई रेड सी पार गरिसकेपछि एडेनको खाडीमा मिसाइलले प्रहार गरिएको हो, बोर्डमा आगो निभाउन र नियन्त्रण गर्न अग्नि नियन्त्रक उपकरणहरू तैनाथ गरिएको छ।’ सो घटनाको जिम्मेवारी हुथी बिद्रोहीले लिएका छन । ‘हाम्रो देश यमन विरुद्ध अमेरिकी–ब्रिटिश आक्रमण र प्यालेस्टिनी जनताको समर्थनमा ट्याङ्करमा मिसाइल प्रयोग गर्नु परेको’ भन्दै इरान समर्थित लडाकुहरूले आक्रमणको जिम्मेवारी लिएका हुन ।
सो जहाज सञ्चालन गर्ने र बेलायतमा कार्यालय रहेको कमोडिटी समूह ट्राफिगुराका अनुसार सो स्थितिको अनुगमन गरिरहेको छ र यस क्षेत्रमा सैन्य जहाजहरू सहायता प्रदान गर्नका लागि अग्रसर रहेका छन ।बेलायती सरकारले आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। उता, युएस सेन्ट्रल कमाण्डले यमनको हुथी नियन्त्रित क्षेत्रबाट विद्रोहीहरूले ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जहाजले संकटकालीन कल जारी गरेको र क्षति भएको जानकारी दिएको जनाएको छ ।