बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित चामलको गोदाममा ताला लगाइएको छ। चामल पुगेसँगै सधैँ खाद्यान्नको अभाव भइरहने मार्तडीस्थित गोदाममा चामल किन्नेको भीड लागेपछि ताला लगाइएको हो।सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सस्तो मूल्यमा मोटा चामल आएपछि किन्नेको भीड लाग्ने गरेको र चामल अभाव भएको भन्दै बिक्री वितरण बन्द गरिएको बताइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा दुई सय क्विन्टल मोटा चामल आएर बिक्री भइसकेको छ। सोमबार बिहान थप एक सय क्विन्टल चामल आए पनि कार्यालयले ताला लगाएको छ।गत शुक्रबार आएको एक सय क्विन्टल चामल आइतबार दुई घण्टामै बिक्री भएर सकिएको थियो। लामो समयसम्म महँगीको मारमा परेका यहाँका स्थानीय अहिले चामल आएपछि किन्नका लागि भीड लागेको थियो। चामल नपाएपछि स्थानीय रित्तै घर फर्कन बाध्य भएका छन्।
गत भदौ २४ मा सकिएको मोटा चामल करिब ६ महिनामा आएपछि चामल किन्नका लागि लाइन लागेका थिए। तर, आज चामल बिक्री हुँदैन भनेपछि रित्तै घर फर्कन बाध्य भएका हुन्।सोमबार पुगेको एक सय क्विन्टल मोटा चामल अर्को पटक नआउँदासम्मका लागि बिक्री वितरण रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुराका प्रमुख उमेश भण्डारीले बताए।
























































































































































