महोत्तरी । चुरे दोहनले भूमिगत पानीमा समस्या बन्दै गएको भन्दै अभियान्ताहरुले चुरे क्षेत्रमा स्थलगत अन्तरक्रिया गरेका छन् । अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पानीको चरम समस्या भोगिरहेको र निकट दिनमा थप समस्याबाट प्रताडित बन्नुपर्ने विषयलाई ध्यानाकर्षण गराउने उद्देश्यले चुरेमा अभियान्ताहरुले कार्यक्रम गरेका हुन् ।
महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटिय क्षेत्रमा भएको कार्यक्रममा चुरे नै तराईको पानीको भण्डार भएको र यसकाे रक्षाका लागी पहिले त चुरे क्षेत्रका मानिस सचेत हुनुपर्ने सहभागीहरुले बताए ।चुरे अभियान्ता सुनिल यादवले दिनानुदिन चुरे अतिक्रमण हुँदै जानु दु:खद भएको बताए । पैसा कमाउने उद्देश्यले केही मानिसहले चुरेलाई व्यापार बनाउँदा समस्या सिर्जना हुँदै गएको उनकाे भनाई छ ।
संघीय सरकारलाई ध्यानाकर्षण गराउन यसअघि उनले चुरे संरक्षणको लागि ११ दिन लगाएर काठमाडाैँसम्म पैदलयात्रासमेत गरेका थिए । बर्दिवास नगरपालिकाले दक्षिणका जनताको भविष्य बोकेको र यही क्षेत्रमा नै अनियन्त्रित दोहन हुनुले भविष्य संकटाेन्मुख बनिरहेको अभियान्ताहरुको भनाइ छ ।नदी उत्त्खननका नाममा रातुमा भएको उत्त्खननलाई लिएर पनि अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
अहिले रातु नदीमा मापदण्डविपरीत उत्खनन भइरहेको र यसलाई रोक्न सबजना एकजुट हुनुपर्ने प्रकृति एवं नदी संरक्षण अधिकार मञ्च महोत्तरीका अध्यक्ष निरोज अधिकारीले बताए ।भूमिगत पानीमा समस्या मात्र हैन किसानहरु समेत विस्थापित बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति अधिकारीको भनाइमा सहमत जनाउँदै बर्दिवासका स्थानीय समाजसेवी शंकर फुयाँलले खोला उत्त्खनन पनि मुख्य समस्या रहेको औँल्याए ।


































































































































































