काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित गुणस्तरीय शिक्षाको सङ्गमका रूपमा रहेको भ्याली भ्यु स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस विशेष शैलीबाट मनाएको छ। बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वार्षिक अभिभावक दिवसमा कला, शिक्षा र स्वास्थ्यका कुरा गरिएको हो।
पहिलो दिनको उद्घाटन सत्रमा विद्यालयले प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आमन्त्रण गरेको थियो। गजुरेलले अभिभावक र विद्यार्थीहरूमाझ कलाका कुरा गरेका थिए। कलाको महत्त्वबारे चर्चा गर्दै गजुरेलले दीर्घ जीवनका लागि खुसी रहनु निकै महत्त्वपूर्ण भएको बताएका थिए। हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएर उनले सबैलाई हँसाएका थिए।
उनले भ्याली भ्यु स्कुलले शिक्षाका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको आफूले पाएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए।त्यस्तै दोस्रो दिनको समारोहका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बालबालिकाको भविष्य निर्माणका लागि अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै स्वस्थ जीवन र त्यसको महत्त्वबारे प्रकाश पारेका थिए।
स्वस्थ जीवनका लागि स्वस्थ मुटु आवश्यक हुने बताउँदै उनले विद्यार्थी जीवनबाट नै स्वस्थकर दैनिकीका बारेमा अभिभावकवर्ग जानकार हुनुपर्ने कुरा औँल्याएका थिए।कार्यक्रममा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै बालबालिकाको युग सुहाउँदो ज्ञान, सिप र प्रविधिको विकासका माध्यमबाट मात्रै आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण हुने भएकाले भ्याली भ्यु स्कुलले त्यसैको स्तरीकरणमा जोड दिइरहेको बताए ।
अभिभावक दिवसको कार्यक्रममा विद्यार्थीहरूले गीत, सङ्गीत, नृत्य, नाटक, योग र खेलकौशलका अनेक प्रस्तुति प्रदर्शन गरेका थिए।सो अवसरमा सर्वोत्कृष्ट शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विषयगत रूपमा सर्वोत्कृष्ट हुन सफल शिक्षकहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।मध्य बानेश्वर, काठमाडौंस्थित भ्याली भ्यु स्कुलले दुई दशकको यात्राक्रममा गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा एकैसाथ जोड दिँदै आएको छ।


































































































































































