
कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार खुल्ला राष्ट्रव्यापी पुरुष भलिबल प्रतियोगितामा आज लिग चरणका खेल सम्पन्न भएका छन् । कैलालीको बर्दगोरिया–३, खैरेनीस्थित रामजानकी मन्दिर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आज लिग चरणका ६ र क्वाटर फाइनलको एक खेल सम्पन्न भएको आयोजक साईनिङ्ग स्टार यूवा क्लबले जनाएको छ । आजको पहिलो खेल आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ र तौलाहा गार्डन, धनगढीबीच भएको खेलमा आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ ले लगातार सोझो सेटमा जित निकालेको छ ।
उक्त खेलमा साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ ले पहिलो सेट २५–९ र दोस्रो सेट २५–९ अङ्कसहित जित हासिल गरेको हो । त्यसैगरी, आजै भएको दोस्रो तौलाहा गार्डन, धनगढी र बसन्त मुरारी मावि, बौनिया बीचको खेलमा तौलाहा गार्डनले जित आफ्नो पक्षमा पार्यो । सो खेलमा पहिलो सेट भने तौलाहाले पहिलो सेट २५–१४ र दोस्रो सेट २५–१३ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
त्यस्तै, आजको तेस्रो खेल टंक अटोमोबाइल्स, मसुरिया र सुन्दरपुर युवा क्लबबीच भएको थियो । सो खेलमा टंकले सुन्दरपुरमाथि सोझो सेटले जित हात पार्यो । टंकले पहिलो सेट २५–१९ र दोस्रो सेटमा पनि २५–२० को जित निकालेको हो । लिग चरणको चौंथो खेल युनिक युवा क्लब, जरही र आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ बीचको प्रतिस्पर्धामा आयोजक ‘ए’ ले २५–१७ र २५–२३ को लगातार जित निकाल्यो । पाँचौं खेल ॐ शिवहरि ज्ञान केन्द्र र अपि शैपाल थकाली भान्सा घरको टोलीबीच भएको थियो । उक्त खेलमा अपिशैपाल सहभागी नभएपछि वाकओभरमा ॐ शिवहरिलाई विजयी घोषित गरिएको थियो ।
आजको छैठौं खेल पशुपति युवा क्लब, रानीकुण्डा र आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ बीच भयो । उक्त खेलमा साईनिङ्ग स्टारले पशुपतिमाथि लगातार २५–१५ र २५–१३ को जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, पहिलो क्वाटर फाइनल खेल ॐ शिवहरि ज्ञान केन्द्र र टंक अटोमोबाइल्स, मसुरिया बीच भएको आयोजक क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।
फागुपूर्णिमा होलीका अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष भेषराज जैसीले बताए । उक्त खेलमा ॐ शिवहरिले टंक अटोमोबाइल्समाथि पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ अङ्कमा जित निकालेको छ । भोलि हुने क्वाटर फाइनल अन्तर्गत आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ र बसन्त मुरारी माविबीच क्वाटर फाइनलको दोस्रो खेल हुनेछ । त्यस्तै, तौलाहा गार्डन, धनगढी र युनिक युवा क्लब, जरहीबीच हुनेछ ।
प्रतियोगिता चैत १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिनेछ ।