काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए।
भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले आज २-अन्डर ७० को स्कोर दर्ज गरे। एमेच्योर सदभाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे।
गोकर्ण गल्फ क्लबमा आज भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो होलमा एक सट खेर फाले। यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २-अन्डरको स्थितिमा थिए। तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे। १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।
एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक-एक सट बचाए। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए ।
संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले सुरूवात राम्रो गर्न सकेनन् । फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए। पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे। तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे। तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे। १५औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।
टुरको पाँचौ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक-एक सट खेर फाले। यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए।
एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले। यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए। चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागीता रहेको छ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन ।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन।


























































































































































