
काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले दिल्ली क्यापिटल्ससँगको सम्बन्धमा आफ्नो मौन तोड्दै दुई पक्षबीच पैसाको विषयमा कुनै कुराकानी नभएको स्पष्ट गरेका छन् ।पन्तले आइपिएल प्रसारकहरू मध्ये एक पोस्टमा पुर्व क्रिकेटर सुनील गावस्करले दिल्ली क्यापिटल्स र ऋषभ पन्तबीच रिटेन्सन मनीमा कुरा नमिलेको हुन सक्ने बताएपछि पन्तले स्पष्ट गरेका हुन् । नोभेम्बर २४ र २५ मा साउदी अरबमा हुने मेगा लिलामीमा दिल्ली क्यापिटलले पन्तलाई किन्न सक्ने अनुमान पनि गावस्करले गरेका छन् ।
गावस्करको टिप्पणीको जवाफ दिदै पन्तले भनेका छन्-‘मलाई रिटेन नगरिएको पैसाको लागि होइन । यो कुरा म ढुक्कसँग भन्न सक्छु ।’गावस्करले रेभस्पोर्ट्जलाई भनेका थिए- ‘मलाई लाग्छ, दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई आफ्नो टोलीमा फिर्ता हेर्न चाहन्छ । कहिलेकाहीं, जब एक खेलाडी राख्नुपर्छ, शुल्क फ्रेन्चाइज र खेलाडीहरू बीच वार्तालाप गरिन्छ, अपेक्षित रूपमा । त्यसैले स्पष्ट रूपमा, मलाई लाग्छ त्यहाँ केहि असहमति हुन सक्छन् । तर, मलाई लाग्छ दिल्लीले ऋषभ पन्तलाई फर्काउन चाहन्छ ।’
दिल्ली क्यापिटल्सले आगामी सिजनका लागि पन्त बाहेक अन्य चार खेलाडीलाई रिटेन गरेको थियो । जसमा अक्षर पटेललाई १६.५ करोडमा, कुलदीप यादवलाई १३.५ करोडमा रिटेन गरिएको थियो भने दक्षिण अफ्रिकी स्टार ट्रिस्टान स्टब्सलाई १० करोडमा र अनक्याप्ड विकेटकिपर अभिषेक पोरेललाई ४ करोडमा रिटेन गरेको थियो ।मिडिया रिपोर्टका अनुसार दिल्ली क्यापिटल्सको व्यवस्थापनमा भएको परिवर्तनका कारण पन्तलाई रिटेन नगरिएको बुझिएको छ । यसअघि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले पनि राजीनामा दिएका थिए ।
पन्तलाई सन् २०१६ मा दिल्ली क्यापिटल्सले किनेको थियो । उनले यस टोलीका लागि १११ खेल खेले, जसमा उनले ३५ को औसतमा ३२८४ रन बनाए ।
दिल्लीले अहिले पूर्व अलराउन्डर हेमाङ बदानीलाई मुख्य प्रशिक्षकमा र वेणुगोपाल रावलाई क्रिकेट टिमको निर्देशकमा नियुक्त गरेको छ । पूर्व विश्वकप विजेता फास्ट बलर मुनाफ पटेल नोभेम्बरको सुरुमा टोलीको बलिङ प्रशिक्षकको रूपमा सामेल भएका छन् ।रिटेन नगरेपनि दिल्लीले चाहेमा अक्सनमा पन्तलाई किन्ने विकल्प बाँकी नै रहेको छ ।