घोरीघोरा लवाङ्गी पूजामा पहिलो पटक सरकारी स्तर बाट पूजा गरियो

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरकारी स्तर बाट पूजा गरीएको छ । घोरीघोरा लवाङ्गी पूजाको दिन घोडाघोडी नगरपालिकाले सरकारी स्तरबाट पूजा गरेको हो । आज बिहान साढे ४ बजे तिर नगरपालिकाको सरकारी टोलीले मन्दिरमा पूजाआजा गरेको थियो ।

 

आज बिहान नै नगर प्रमुख खडक बहादुर रावत,उप–प्रमुख गुलिया कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह,वडा अध्यक्ष र कर्मचारीहरु लगायतको टोली पूजाको सामाग्री लिएर मन्दिर गएका थिए । मन्दिरमा सरकारी स्तर बाट पूजाआजा गरे पछि अन्य भक्तजनहरूले पूजा गरेका थिए ।

 

 

“विगत लामो समय देखी यहाँको थारु समुदायले घोडाघोडी मन्दिरमा लाग्ने लवाङ्गी पूजा गर्दै आएको कुरालाई मध्यनजर गर्दे त्यो पूजामा स्थानीय सरकारको प्रत्यक्ष संलग्नता, सहभागी छ । त्यो नागरिकले अनुभूति हुने गरीकन उपस्थिति देखिनु पर्छ,”उनले भने, “यस पटक बाट पहिलो चोटि हामी स्थानीय सरकारको तर्फ बाट सरकारी पूजा गरेका छौँ ।” एउटा परम्परा, संस्कृति र रीतिको सुरुवात आफूहरूले गरेको उनले बताए । अब देखी हरेक वर्षको लवाङ्गी पूजामा स्थानीय सरकारको पूजा नियमित हुने नगर प्रमुख रावतले बताए ।

 

मन्दिर परिसरमा “हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१ लागेको थियो । घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा मसिंर १९ गते देखी २१ गते सम्म घोराघोरी लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव चलेको थियो ।

 

लवाङ्गी पूजाको अवसर पारी घोरीघोरा मन्दिरमा हरेक वर्षमा बलि चढाउने गरिन्छ । मन्दिरमा भाकल गरेका तथा नगरेका मानिसहरूले गाउँ–गाउँबाट कुखुरा, बोका, सुँगुर लगायतका पशु पंक्षिहरु मान्दिरमा चढाउने गर्दछन् । विगतमा थारु समुदायले मात्रै पुज्ने तथा बलि दिने गरेकोमा यस पूजालाई पछिल्लो समय अन्य समुदायले पनि आत्मसाथ गर्ने गरेका छन् ।

 

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । यहाँ कैलाली,कञ्चनपुर,दाङ बाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?