मुम्बई । दक्षिण सिनेमाका शक्तिशाली अभिनेता धनुष अहिले दिल्लीको श्रीराम कलेज अफ कमर्समा आफ्नो आगामी फिल्म ‘तेरे इश्क में’ को सुटिङमा व्यस्त रहेका छन्। निर्देशक आनन्द एल राईको फिल्मको सेटबाट एउटा भिडियो भाइरल भएको थियो, जसमा धनुष कलेजमा एक्शन सिन शूट गर्दै गरेको देखिएको थियो । सो फिल्ममा धनुषको अपोजिटमा अभिनेत्री कृति सेनन देखिदैँ छिन् । मानिसहरु फिल्मको प्रतिक्षामा छन् ।
यसैबिच, अब धनुषको चर्चित फिल्म मध्येको एउटा फिल्मको रि–रिलिज हुने खबर आएको छ । सन् २०१३ मा रिलिज भएको चलचित्र ‘राँझना’लाई सबैले मन पराएका थिए । अब फेरि यो चलचित्र सिनेमा हलमा देखिने भएको छ । सो फिल्ममा धनुष र सोनम कपूर मुख्य भूमिकामा रहेका थिए भने दर्शकहरूले धेरै तारिफसमेत गरेका थिए । सो फिल्ममा धनुषा र सोनमका साथै स्वरा भास्कर, अभय देओल र जिशान अयुबको पनि पनि अभिनय रहेको छ ।
फिल्म फेयरका अनुसार धनुष र सोनमको यो क्लासिक प्रेमकथा फेरि २८ फेब्रुअरीमा हलमा रि–रिलिज हुँदैछ । सो फिल्मका दृश्य, गीत र संवादका लागि मानिसहरु अझै पनि पागल छन् । यसबाहेक फिल्ममा धनुषको कामलाई पनि दर्शकले निकै रुचाएका छन् । यो फिल्मलाई मन पराउने धेरै छन् र यस्तो अवस्थामा कुन्दन र जोयाको यो कथा फेरि पनि थिएटरमा हेर्न आउनेछन् भन्ने निर्मातालाई आशा छ ।
फेब्रुअरी २८ मा नै ‘तुम्बाड’ अभिनेता तथा निर्देशक सोहम शाहको फिल्म ‘क्रेजी’ पनि रिलिज हुँदैछ । यस्तो अवस्थामा यी दुई फिल्मबीचको भिडन्तले सोहमको फिल्मलाई ढाक्ने अनुमान गरिएको छ । चलचित्र क्रेजीको कुरा गर्दा हालै चलचित्रको उत्कृष्ट ट्रेलर सार्वजनिक भइसकेको छ ।





















































































































































