
कैलाली। समाजका हरेक तहमा “भ्यालु” अर्थात मूल्यको बहस भइरहेछ – को कति महत्वपूर्ण? को कसको लागि अपरिहार्य? अक्सर यो बहसको धुरीमा ठूलाबडा, पूँजीपति वा अगुवा भनिने नेतृत्व वर्ग हुन्छन्, जसले आफ्नै मूल्यलाई मात्र उच्च ठान्छन् र अरूको योगदानलाई सानो सोच्छन्। यद्यपि, गहिराइमा गएर हेर्दा थाहा हुन्छ – जुनसुकै उचाइमा पुगेको व्यक्ति होस्, उसको सफलताको जगमा भुइँमान्छेहरूको पसिना, श्रम र सपनाको योगदान हुन्छ।
पूँजी, श्रम र मूल्यबोध;
आजको पूँजीवादी संरचनामा पूँजीपतिहरूलाई समाजले “रोजगारदाता”, “सृजना गर्ने” वा “अवसर दिने” भनेर सम्मान गर्छ। उनीहरूको भूमिका नकार्न मिल्दैन, तर पूँजी मात्रले उत्पादन सम्भव हुँदैन – त्यसलाई गति दिने श्रमिकका हात, समय र लगनको गन्ध सँगै मिसिएको हुन्छ। एक जना मजदुरको हातमा राता रात बनेको ईटा, गाडी चलाउने ड्राइभरको होस, पसलमा सामान बेच्ने सेल्सम्यानको मुस्कान – यी सबै मिलेर पूँजीलाई मूल्यवान बनाइरहेका हुन्छन्।
तर विडम्बना के छ भने, पूँजीपतिहरूको बोलीमा आफ्नै योगदानको घमण्ड त हुँदैन, तर श्रमिकको योगदानप्रति न्यूनतम कदर देखिँदैन। उनीहरू कहिल्यै भन्दैनन् – “तपाईंले खरिद नगरेको भए म धनी हुने थिइनँ।” यहीँबाट सुरु हुन्छ मूल्यको अपमान।
नेताको सिँढी : कार्यकर्ता र जनता;
ठूलाबडा भन्ने सन्दर्भ राजनीतिको दुनियाँमा पनि उत्तिकै लागु हुन्छ। नेताहरू जोसुकै पार्टीका हुन्, उनीहरूको उचाइमा उक्लन कार्यकर्ताले बनाएको सिँढीको भूमिका रहन्छ। कार्यकर्ताहरू जनताको बीचमा घामपानी बेपत्ता भइ संगठनका नारा बोकेर हिँड्छन्। चुनावमा ढोका ढोका पुग्छन्, आलोचना सहन्छन्, झगडा बेहोर्छन् र अन्ततः जस पाउँछ नेतृत्वले।
आजको दिनमा नेताहरूको ठूलो भूल के देखिन्छ भने, उनीहरू आफ्नो वर्तमान हैसियतलाई आफ्नै ‘कुशलता’, ‘दूरदृष्टि’ वा ‘कडा संघर्ष’ को उपज ठान्छन्, तर कार्यकर्ताको समर्पण र जनताको समर्थनको मूल्य बिर्सिन्छन्। चुनाव सकिएपछि कार्यकर्तालाई सम्झने क्रम हराउँदै जान्छ, जनताको समस्या भन्दा सत्ता जोगाउने कसरतमा बढी ध्यान जान्छ।
साँचो मूल्य बोधको खाँचो;
हामीले समाजको दिगो विकास, न्यायपूर्ण नेतृत्व र समावेशी संरचना बनाउने हो भने मूल्यको साँचो बोध आवश्यक छ। पूँजीपति होस् वा नेता – उनीहरूले त्यो ठाउँमा पुग्न अरूको सहयोग, श्रम, भरोसा र योगदानलाई कहिल्यै बिर्सनु हुँदैन।
सफलता केवल व्यक्तिगत संघर्षको परिणाम होइन, सामूहिक प्रयासको संकलन हो। जबसम्म नेतृत्वले आफ्नो सिँढी बन्नेहरूलाई सम्मान गर्न जान्दैन, तबसम्म त्यो नेतृत्व केवल सत्ताको नाम मात्र हो – सेवाको होइन।
यसर्थ;
समाजलाई सन्तुलित र न्यायपूर्ण बनाउने हो भने ‘भ्यालु कसको?’ भन्ने प्रश्नको उत्तर पुनः लेख्न जरुरी छ। पूँजीको मूल्यसँगै श्रमको मूल्य, नेतृत्वसँगै कार्यकर्ताको आत्मा, र उचाइसँगै जरा सम्झने संस्कार विकास गर्नु आवश्यक छ।
अन्ततः, बृक्ष उचाइले होइन, जराले अडिएको हुन्छ।