काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उहाँले संविधानविपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पार्नुभयो । नेता सुटौलाले भन्नुभयो, “भावनात्मक रूपले एक हुनुपर्छ । जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गरौँ । जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो ।
राष्ट्रिय एकता नै स्थायित्वको आधार हो ।” कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । उहाँले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भन्नुभयो, “जेनजी आन्दोलन परिकल्पनाभन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरूरी छ ।” केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका नयाँ मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म जीवनशैलीमा परिवर्तन हुँदैन, तबसम्म प्रणाली राम्रो भएर मात्र पुग्दैन ।
” कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसीलगायतले संविधान कार्यान्वयनमा दलहरू चुकेको टिप्पणी गर्दै अब सम्हालिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले लोकतन्त्रलाई थप बलियो बनाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । —





























































































































































