
नौगाड (दार्चुला) । दार्चुलामा ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकीन विवरण भने हालसम्म सङ्कलन हुन सकेको छैन । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा कांग्रेसको पार्टी कार्यालयमा रु ६५ हजार नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब रु ९९ हजार बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । “जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब रु ५१ हजार ५०० बराबरको क्षति पुगेको छ ।
गोकुलेश्वर अस्पतालमा क्षति पु¥याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेस भएको छैन”, उहाँले भन्नुभयो । गत भदौ २६ गते दुहुँ गाउँपालिका–३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुुगेको छ । वडा कार्यालयमा रु ७२ लाख छ हजार ७०० बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो ।
प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन । लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेका प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो । —