
कञ्चनपुर। छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको समन्वयमा संयुक्त रूपमा छाउगोठ भत्काइएको हो ।
कृष्णपुर–१ निगालीकी करिब ३२ वर्षीया कमला आउजीको असार अन्तिम साता छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । छाउगोठमै महिलाको मृत्यु भएपछि पालिकाले छाउगोठ नभत्काउनेलाई रु १० हजार जरिवाना र कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसलगत्तै छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको थियो । नगर प्रमुख हेमराज ओझाले छाउगोठ भत्काउने अभियान जारी रहेको बताउनुभयो । “देशमा देखिएको विषम परिस्थितीका कारण अभियान सुस्ताएको मात्रै हो”, उहाँले भन्नुभयो, “दसैँ तिहारपछि पुनःछाउगोठ भत्काउने कार्य अगाडि बढाउँछौँ ।
” छाउपडी जस्तो अमानविय प्रथा अन्त्यका लागि अभियान निरन्तर जारी रहने उहाँले बताउनुभयो । उहाँका अनुसार छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तह, विद्यालय, महिला समूह र नागरिक समाजसँग सहकार्यमा सचेतनामूलक कार्यक्रम पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको छ । “यो केबल कानुनी मुद्दा मात्र होइन, सामाजिक सोच परिवर्तनको विषय हो”, उहाँले भन्नुभयो, “महिलाको जीवन र अधिकार सुरक्षित गर्न हामीले निरन्तर काम गर्दै जानेछौँ ।” जिल्ला प्रशासन कार्यालयले जिल्लाका नौवटै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको भए पनि हालसम्म कृष्णपुर र बेदकोट नगरपालिकाले मात्र अभियान अघि बढाएका छन् ।
अन्य पालिकामा भने अझै पनि महिला महिनावारी अवधिमा छाउगोठमै बस्ने प्रथा कायम रहे पनि अभियान सञ्चालन भएको छैन । नेपालमा छाउपडी प्रथा कानुनी रूपमा प्रतिबन्धित छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ अनुसार छाउपडी गराउनेलाई तीन महिना कैद वा रु तीन हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । तर कानुनी व्यवस्था भए पनि सामाजिक मान्यता, परम्परा र अन्धविश्वासका कारण ग्रामीण क्षेत्रमा अझै यो प्रथा जरा गाडेर बसेको छ । यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकार, गैरसरकारी संस्था, प्रहरी, स्थानीय तह र समुदायबीच सहकार्य अपरिहार्य मानिएको छ ।