
इटालीमा विदेशी उद्यमीहरूको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारहरूले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्त्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ। भेनिसस्थित लियोन मोरेसा फाउन्डेसनले गरेको आप्रवासन अर्थतन्त्रसम्बन्धी प्रतिवेदनका अनुसार गत वर्ष विदेशी कामदारले करिब १७७ अर्ब युरो (२०६ अर्ब अमेरिकी डलर) आम्दानी गरेका थिए, जुन इटालीको कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशत बराबर हो ।
इटालीमा रहेका ५४ लाख विदेशी बासिन्दामध्ये सन् २०२४ मा २५ लाख विदेशबाट आएका कामदार रहेका र यो राष्ट्रिय श्रमशक्तिको १०.५ प्रतिशत हो। “इटालीले स्थानीय श्रम अभावको सामना गरिरहेका क्षेत्रहरूमा आप्रवासी श्रमिकले भर्ती जारी राखेको छ,” रिपोर्टमा भनिएको छ। अधिकांश आप्रवासीहरू प्रगतिको सीमित सम्भावनाहरूसहित कम दक्ष र अनिश्चित रोजगारीमा छन् । आप्रवासी सम्भावनाको राम्रो पहिचानले कुल गार्हस्थ्य उत्पादन, उपभोग र सार्वजनिक राजस्वमा थप वृद्धि गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
देशमा विदेशी उद्यमशीलता पनि विस्तार भएको छ । गत वर्ष सात लाख ८७ हजार आप्रवासी आफ्नो स्वामित्वको व्यवसायसहित इटालीमा कार्यरत थिए । यो राष्ट्रिय कुल श्रमशक्तिको १०.६ प्रतिशत हो र सन् २०१४ को तुलनामा २४.४ प्रतिशत बढी हो । सोही अवधिमा इटालीको स्वामित्वमा रहेका कम्पनीहरू ५.७ प्रतिशतले घटेका छन् । आप्रवासीहरूले इटालीको जनसाङ्ख्यिक सन्तुलनलाई पनि बलियो बनाएका देखिन्छ ।
इटालीमा सन् २०२४ मा प्रति एक हजार आप्रबासी व्यक्तिमा करिब १० जन्मदर रेकर्ड भएको छ यो सङ्ख्या इटालियनहरूमा ६.१ छ भने मृत्यु दर पनि कम छ। अनुसन्धानकर्ताहरूले आप्रवासनको वृद्धिमा सुस्तता आएको र इटाली स्थिरीकरणको चरणमा प्रवेश गरेको बताएका छन्। इटाली पुग्ने आप्रबासी कामदार पठाउने रोमानिया, अल्बानिया, मोरक्को र चीन प्रमुख विदेशी समुदाय हुन्। यदि राम्रोसँग व्यवस्थापन गरियो भने, आप्रवासनले इटालीको अर्थव्यवस्था, जनसङ्ख्यिकी र सार्वजनिक वित्तमा सकारात्मक योगदान पुर्याउँछ भन्ने प्रतिवेदनले निष्कर्ष निकालेको छ । —