जनकपुर, मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै आज सञ्चारकर्मीसँग उहाँले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताउनुभयो ।
प्रदेश प्रमुख डा कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहने धारणा राख्दै सञ्चारकर्मीलाई राय, सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले मधेस प्रदेश सीताको जननी भूमि रहेको भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान गर्दै अगाडि बढ्न अपिल गर्नुभयो ।
प्रदेश प्रमुख डा कर्णले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गर्नुभएको थियो । त्यहाँबाट सेवा निवृत्त उहाँले राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत काम गरिसक्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)


























































































































































