दशरथचन्द (बैतडी), जिल्लाको पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो ।
सरकारले विसं २०६८ मा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । नयाँ सहर विकाससँग सम्बन्धित काम पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इञ्जिनियर प्रकाशकुमार शाहले जानकारी दिनुभयो ।
यसैबीच सघन सहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झङ्कबहादुर थापा नियुक्त हुनुभएको छ । इञ्जिनियर शाहले भन्नुभयो, “नयाँ सहरको कार्यालय अब सघन सहरी आयोजनामा समाहित भएको छ । नयाँ सहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिनेछ ।”
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उहाँले बताउनुभयो । “मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन सकेको छैन भने निर्माण गरिएका अधिकांश संरचना प्रयोगमा आएका छैनन्”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































