महोत्तरी, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कृषिसम्बन्ध कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।
“मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “त्यसैले दुई वर्षभित्र सम्पन्न हुनेगरी सिँचाइसम्बन्धी आयोजना अघि बढेका छन् ।” सिँचाइसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई सहयोगका कार्यक्रम विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
मधेस कृषिका लागि उर्बर भए पनि खेतीपातीका लागि आवश्यक संसाधन नहुँदा किसानले अपेक्षित उत्पादन लिन नसकेका मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउँदै किसानलाई सहयोग गर्नेमा केन्द्रित हुने उहाँले बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री यादवले मधेसको शिक्षा र स्वास्थ्य अवस्था उक्साउन विशेष योजनाका साथ काममा लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो । यसैगरी प्रदेशकै मध्यमा पर्ने बर्दिबासबाट ढल्केबरसम्म पर्यटन पूर्वाधारका विशेष योजना बनाइने उहाँले जानकारी दिनुभयो ।
समारोहमा कार्यक्रम आयोजक महासङ्घ मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रम महासङ्घ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































