बेलबारी (मोरङ), १९ पुसः मोरङको लक्ष्मीमार्गमा सम्पन्न ‘बेलबारी रन’को १० किमी प्रतियोगितामा खुला पुरुषतर्फ ओखलढुङ्गाका टङ्कबहादुर कार्की प्रथम हुनुभएको छ । यसैगरी महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा र भेट्रानतर्फ सुनसरी धरानका बिजयकुमार राई प्रथम बन्न सफल हुनुभएको छ ।
बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा हुनलागेको दोश्रो बेलबारी महोत्सवको प्रचार तथा प्रवद्र्धनका लागि सङ्घद्वारा शुक्रबार बेलबारी रन आयोजना गरिएको थियो । दौड प्रतियोगीकाको खुला पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बू दोस्रो र ओखलढुङ्गाका सुवास कार्की तेस्रो बन्न सफल हुनुभएको हो । त्यसैगरी महिलातर्फ खोटाङकी दिर्पा बस्नेत दोस्रो र मोरङ उर्लाबारीकी मन्दीरा महतारा तेस्रो बन्न सफल बन्नुभयो । त्यसैगरी भेट्रानतर्फ झापाका राजकुमार विष्ट दोस्रो र सुनसरी इटहरीका शान्तबहादुर थिङ तेस्रो बन्न सफल बन्नुभयो । बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना गरिएको रनमा १३६ जना धावकको सहभागी भएका रनका संयोजक शिवकुमार राईले बताउनुभयो ।
उक्त दौड प्रतियोगिताका विजेतालाई बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई र उपप्रमुख नितु थापा कोईरालाले नगद, मेडल र प्रमाणपत्र आज वितरण गनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)


























































































































































