जनकपुरधाम, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामथ्र्य र शक्ति भएको बताउनुभयो ।उहाँले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा राख्नुभयो ।
हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताउनुभयो । धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उहाँको भनाइ छ ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले शान्तिसुरक्षाको अवस्था थप सुदृढ बनाइने उल्लेख गर्नुभयो । साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिनुभयो ।
मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैँ संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































