मोरङ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभएको छ । आयोगद्वारा आजदेखि विराटनगरमा सुरु भएको दुई दिने प्रतिनिधिसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि ‘सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रममा उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरू नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको बताउनुभयो ।
उहाँले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख सञ्चरमाध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पार्नसक्ने असरप्रति आयोग सचेत भई कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति निर्वाचनमा हुनसक्ने भएकाले यसतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालबाट आउन सक्ने समस्या समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणको आइटीको समूहले आयोगमा बसेर काम गरिरहेको सचिव राउतले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुक र एक्ससँग गलत सूचना सम्प्रेषणहरू रोक्नका लागि आग्रह गरिएको पनि बताउनुभयो ।
आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै उहाँले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडलले आगामी निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौतीका रूपमा देखिएको बताउनुभयो । निर्वाचनका लागि प्रदेश सुरक्षा कमाण्ड पोष्टका अध्यक्षसमेत रहनुभएका उहाँले प्रदेशको भूगोल, खुल्ला सिमाना, अवैध सवारीसाधनको प्रयोगसँगै सामाजिक सञ्जाल पनि निर्वाचन सुरक्षाको चुनौती बनेको धारणा राख्नुभयो ।
दुई दिने अभिमुखी कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनः संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनका विविध पक्ष (जनशक्ति, आर्थिक सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा), निर्वाचन व्यस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिः नीतिगत व्यवस्था, नियमन र नियन्त्रण (निर्वाचन आचारसंहिता, अनुगमन र पर्यवेशक्षण समेत)कार्यपत्र प्रस्तुत गरिने छ ।
यसैगरी निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदन र नमुना मतदान अभ्यास र मतगणनालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।
अभिमुखी कार्यक्रममा कोशी र मधेस प्रदेशका केही जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको छ । कोशी प्रदेशमा प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेकामा आगामी निर्वाचनका लागि एक हजार ९०७ मतदानस्थल र चार हजार २७० मतदान केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी मतदानस्थल मोरङमा ३०६ र सबै भन्दा कम तेह्रथुममा ५६ रहेका छन् । प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० मतदाता छन् ।राष्ट्रिय समाचार समिति (रासस)
—




















































































































































