काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) आगामी फागुन ७ गते हुने आफ्नो ६५ औँ वार्षिकोत्सव विविधि कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाउनेक्रममा २१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा गठित रासस वार्षिकोत्सव मुल समारोह समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरी काम बाँडफाँड गरिएको छ ।
रासस व्यवस्थापनले आज केन्द्रीय कार्यालयमा कर्मचारी भेला आयोजना गरी वार्षिकोत्सव मुल समारोह समितिको गतिविधि तथा उपसमिति गठनको जानकारीसहित पछिल्लो त्रैमासिक अवधिमा राससमा भएको प्रगतिविवरण सार्वजनिक गरेको छ ।सो अवसरमा समितिको समग्र गतिविधिसहित राससकर्मीको हकहितका पक्षमा भएका प्रयास, भौतिक पूर्वाधार निर्माण र आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो ।
त्यसअवसरमा समितिका कार्यकारी अध्यक्ष झाले समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने, भौतिक सम्पत्तिको अधिकतम सदुपयोगसहित आयस्रोत वृद्धि गर्ने र कर्मचारीको वृत्तिविकास गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सेवाग्राही र स्रोत बढाउने सन्दर्भमा समितिका सबैको एकीकृत पहल आवश्यक छ । समाचार गुणस्तर वृद्धिका लागि हामीले सक्दो प्रयास गर्नुपर्छ, यसमा सबैबाट सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”
पछिल्लो समय राससका अस्थायी तथा करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने र संशोधनका क्रममा लामो समयदेखि मन्त्रालयमा रहेको ‘रासस कर्मचारी सेवाशर्त विनियमावली २०८२’ प्राप्त गरेको विषयलाई राससले उपलब्धिका रुपमा लिइएको छ ।
महाप्रबन्धक सन्दीप राईले कर्मचारीको वृद्धि विकाससँग जोडिएको विनियमावली राससमा प्राप्त भइसकेको अवस्थामा कर्मचारीको वृत्तिविकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय समाचार सामग्री सम्प्र्रेषणमा राससकर्मीको ध्यान जानुपर्नेमा जोड दिँदै त्यसमा आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानसम्पादक उत्तम सिल्वालले राससको पहिचानका रुपमा पूर्वप्रमुख समाचारदाता भैरव रिसालका नाममा अक्षयकोष स्थापना गर्न सुझाव दिँदै सामाजिक सुरक्षामा कोषमा आबद्धता र रासस विनियमावली प्राप्त हुँदा कर्मचारीको मनोबल बढेको बताउनुभयो ।
प्रशासन प्रमुख शीतलप्रसाद महतोले वार्षिकोत्सवका तयारीका सम्बन्धमा सञ्चालक समितिबाट भएका निर्णय र हालसम्मका तयारी र कर्मचारी वृत्तिविकासका सम्बन्धमा जानकारी गराउनुभयो ।
वरिष्ठ समाचारदाता प्रकाश सिलवालले आसन्न निर्वाचनका सम्बन्धमा राससले आफ्ना सम्पादक र देशैभरिका समाचारदातालाई रासस शैली र आचारसंहिता अनुकूल हुने गरी समाचार सम्प्रेषण गराउन अभिमूखीकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
त्यसअवसरमा नेपाल पत्रकार महासङ्घ रासस शाखाका सभापति कृष्णप्रसाद सापकोटा, रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईं, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्धता र विनियमावली ल्याएकोमा व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी कार्यालय सहयोगी खिलानाथ दाहालले आफूलगायत १७ जना न्यून वैतनिक राससकर्मीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएकामा खुशी व्यक्त गर्दै लामो समयपछि आफूहरुले न्याय पाएको बताउनुभयो । स्थानीय समाचारदाता रुपेश आचार्यले वार्षिकोत्सवका अवसरमा स्थानीय समाचारदातालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































