सिरहा, उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेलापरेकी थिइन् । अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आई सल र हातले घाँटी थिची हत्या गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार हत्यापछि फरार भएका मुखिया लामो समयसम्म भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । हाल उनी आफ्नै घरमा आएर लुकेर बसेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई माघ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका मुखियालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































