महेन्द्रनगर (धनुषा), नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
नेता निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । “संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता जरूरी छ”, उहाँले भन्नुभयो, “जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ ।”
नेता निधिले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधानमाथि अनावश्यक टीकाटिप्पणी गर्नेभन्दा यसको सफल कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो । “सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ, तर “राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्छ । परिवर्तनलाई संस्थागत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
पत्रकारहरूको जिज्ञासामा नेता निधिले मधेस प्रदेशमा विकास निर्माणका सवाल, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणजस्ता विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । यसका लागि तीनै तहका सरकार संवेदनशील बन्नुपर्ने उहाँको आग्रह थियो । राष्ट्रिय समाचार समिति (रासस)


























































































































































