दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई अस्पतालका निमित्त मेडिकल सुररिटेन्डेन्ट डा अर्जुन भट्टसँग अस्पतालको अवस्था, सेवा सुविधा र समस्याबारे जानकारी दिनुभएको थियो ।
बोहराले डायलाइसिस सेवाको अभावमा कुनै पनि मिर्गाैला पीडित र उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । “मैले निर्वाचनको समयमा मत माग्दै जाँदा अस्पतालमा सहज रूपमा सेवा पाइँदैन, भनसुनका आधारमा उपचार हुन्छ भनेर गुनासो सुन्नुपरेको थियो”, बोहराले भन्नुभयो, “अब उपचार सेवा सुविधाबारे गुनासो आउनुहुँदैन । सबै जना अस्पतालको सुधारमा लाग्नुपर्छ ।”
अस्पतालका डा अर्जुन भट्टले अस्पतालको स्रोतसाधनले भ्यायअनुसार सेवा प्रवाह हुँदै आएको बताउनुभयो । “हाल जनशक्ति र भौतिक संरचना थपिँदै गएका छन्, विगतको तुलनामा रिफर हुने बिरामीको सङ्ख्या न्यून छ”, उहाँले भन्नुभयो, “बिरामीको चाप र अस्पतालमा वेड अभावका कारण सेवा दिन नसकिएको हो । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ ।” बोहरा कञ्चनपुर क्षेत्र नं २ बाट २३ हजार १२५ मतान्तरसहित विजयी हुनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































