काठमाडौँ, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ । एफडब्लुएलडीले आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरु थप लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री बनाउन आवश्यक रहेको बताएको छ ।
एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले उक्त सुझाव दिएका हुन् । एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले मतदान हुनुअघि मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण विधि’बाट प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो ।
उहाँले सात प्रदेशका २४ जिल्लाका १६० मतदान केन्द्रको अवलोकन गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय समाचार समिति(रासस)





















































































































































