जनकपुर, धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी हुनुभएको छ । धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो । यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर महतो विजयी हुनुभएको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका यादवले ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका झाले ४३ हजार ९८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बिमलेन्द्र निधिले १६ हजार ६५२ प्राप्त गर्नुभयो ।
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका महतोले ४८ हजार २७० मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ प्राप्त गर्नुभयो ।
यसैबीच, निर्वाचन आयोगले धनुषा १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको सो आयोगले सूचना जारी गरी जनाएको छ ।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































