सिद्धार्थनगर (भैरहवा), हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो ।
निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा रणनीति, सुरक्षाकर्मीको सक्रिय परिचालन तथा सुरक्षा निकायबीचको समन्वयका कारण यसपटकको निर्वाचन अपेक्षाकृत सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न भएको विश्लेषण गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले बहुआयामिक सुरक्षा योजना कार्यान्वयन गरेको थियो । मतदानस्थल र मतदान केन्द्रहरूमा विशेष सुरक्षा प्रबन्ध मिलाएकाले मतदाताले ढुक्क साथ मतदान गर्न सकेको सुरक्षा निकायको भनाइ छ । प्रहरी सङ्गठनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीको ठम्याइ छ ।
सुरक्षाकर्मीलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गरिएको तथा देशभरका प्रहरी इकाइलाई उच्च सतर्कतामा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले सुरक्षा रणनीति सफल भएको उल्लेख गर्दै विगतको तुलनामा यस निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको दाबी गर्नुभयो ।
प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि मुख्यतः पाँच प्रमुख रणनीति अवलम्बन गरेको थियो । महानिरीक्षक कार्कीका अनुसार पहिलो, सुरक्षा जोखिम मूल्याङ्कनका आधारमा मजबुत सुरक्षा योजना तयार गरिएको थियो । दोस्रो, सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गरी सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाइएको थियो । तेस्रो, पछिल्ला आन्दोलनका कारण केही खस्किएको प्रहरी मनोबललाई उच्च बनाउने उद्देश्यले सङ्गठनभित्र विशेष पहल गरिएको थियो । चौथो, अन्य निकायहरूसँग प्रभावकारी सुरक्षा निकाय, राजनीतिक दल, प्रशासन तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय कायम गरिएको थियो । र, पाँचौँ, निर्वाचन अवधिभर निरन्तर अनुगमन तथा नियमनलाई सुदृढ बनाइएको थियो ।
अनुगमनका क्रममा प्रहरी महानिरीक्षक कार्की स्वयंले विभिन्न प्रदेश तथा जिल्लाका प्रहरी इकाइमा पुगेर स्थलगत निरीक्षण, सुपरीवेक्षण तथा ‘ब्रिफिङ’ कार्यक्रम सञ्चालन गर्नुभएको प्रहरी प्रधान कार्यालय सूचना शाखाको भनाइ छ । यस पटकको निर्वाचन नेपाल प्रहरीले ‘डिजिटल’ प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको थियो । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा ‘फेक न्युज’ नियन्त्रण गर्न प्रत्येक जिल्लामा सामाजिक सञ्जाल अनुगमन टोली गठन गरिएको थियो । ती टोलीहरूले ‘अनलाइन’ माध्यममा प्रसारित भ्रामक सामग्रीको निगरानी गर्दै आवश्यक कारबाही तथा सामग्री हटाउने कार्यसमेत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी, संवेदनशील क्षेत्रहरूको निगरानीका लागि ‘ड्रोन क्यामेरा’, उच्च क्षमताका क्यामेरा तथा अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग गरिएको थियो । सुरक्षा अवस्थाअनुसार सङ्गठनात्मक कमान्ड संरचना व्यवस्थित गर्दै प्रदेश स्तरमा प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड खडा गरिएको थियो भने जिल्ला स्तरमा वरिष्ठ प्रहरी अधिकृतहरू र सिनियर प्रहरी अधिकृतहरूलाई परिचालन गरिएको थियो ।
सुरक्षा व्यवस्थापनका दृष्टिले विभिन्न सुरक्षा निकायबीचको समन्वयलाई पनि प्रभावकारी बनाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसँग संयुक्त रूपमा सुरक्षा निगरानी, जोखिम मूल्याङ्कन तथा सम्भावित विवाद समाधानका लागि सहकार्य गरिएको प्रहरीले जनाएको छ ।
विसं २०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटना भएका थिए । बाजुरा, रुकुम र कालीकोटमा भएका झडपमा आठ जनाको मृत्यु भएको थियो भने इलाम, सर्लाही, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, धादिङ, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधका घटनासमेत भएका थिए । तर २०८२ सालको निर्वाचनमा भने त्यस्ता गम्भीर प्रकृतिका घटना देखिएन, भएन । मतदान केन्द्रहरूमा व्यवस्थित तथा कडा सुरक्षा प्रबन्ध मिलाइएकाले ठूलो झडप वा हिंसात्मक घटना हुन नपाएको सुरक्षा विज्ञहरूको भनाइ छ ।
केही स्थानमा सामान्य तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई अवस्था सामान्य बनाएका थिए ।संविधानविद् तथा कानुन व्यवसायी सूर्य अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्ण हुनुमा प्रभावकारी सुरक्षा व्यवस्थापन प्रमुख कारण हो । उहाँले राज्यका सुरक्षा निकाय, निर्वाचन व्यवस्थापन र प्रशासनबीचको समन्वय प्रभावकारी भएकाले निर्वाचन सहज रूपमा सम्पन्न भएको बताउनुभयो ।
त्यसैगरी, सुरक्षा विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले विगतका अनुभवका आधारमा सुरक्षा रणनीति परिमार्जन गरिएकाले जोखिम न्यूनीकरणमा सफलता मिलेको बताउनुभयो ।
अधिकारकर्मी लक्ष्मी केसीले निर्वाचन अवधिभर सुरक्षाकर्मीले उच्च जिम्मेवारीका साथ भूमिका निर्वाह गरेकाले कुनै ठूलो दुर्घटना वा हिंसात्मक घटना हुन नपाएको बताउनुभयो । उहाँका अनुसार यसले नेपालको लोकतान्त्रिक अभ्यासमा सकारात्मक सन्देश दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन सुरु हुनुअघि नै देशभरका मतदान केन्द्रहरूलाई संवेदनशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा योजना तयार पारिएको थियो । उहाँले विभिन्न सुरक्षा निकायसँगको संयुक्त परिचालन र समन्वयका कारण सम्भावित जोखिमहरू नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण देखिएको सुरक्षा निकायको निष्कर्ष छ । विगतमा देखिएका झडप, विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधजस्ता घटनाहरू यस पटक दोहोरिन नपाएको हो । समग्रमा निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल तथा मतदाताबीचको सहकार्य र जिम्मेवार भूमिकाका कारण २०८२ सालको प्रतिनिधिसभा निर्वाचनलाई नेपालको लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण तथा व्यवस्थित निर्वाचनका रूपमा स्थापित गर्न सफल भएको छ ।
अनुशासित परिचालन, प्रभावकारी सुरक्षा रणनीति र नेतृत्वदायी भूमिकाका कारण नेपाल प्रहरीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको ठहर गरिएको छ । प्रहरी महानिरीक्षक कार्कीले नेतृत्व सम्हालेपछि सङ्गठनको व्यावसायिक क्षमता, प्रविधिमैत्री कार्यशैली तथा सङ्गठनात्मक समन्वयमा सुधार देखिएको छ । यसपटकको निर्वाचनमा पहिलो सुरक्षा घेरामा रहेर काम गरेको प्रहरी सङ्गठनले देखाएको सक्रियता र प्रभावकारी व्यवस्थापनलाई सुरक्षा क्षेत्रका विज्ञहरूले नेतृत्वको सफलताको उदाहरणका रूपमा समेत लिएका छन् ।कमल रायमाझी/रासस


















































































































































